Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ग्रीसको त्यो विचित्रको ठाउँ पुग्दा…

हाम्रो कोशी आवाज
मंसिर २९ २०७७, सोमबार
ग्रीसको त्यो विचित्रको ठाउँ पुग्दा…

हाम्रो संसार पनि ज्यादै विचित्रको छ । संसारमा भएको विभिन्न ठाउँहरुको खोलानाला, तालतलैया, लेकबेसी, पहरापर्वत मात्र नभएर अनेकौ धार्मिक तीर्थस्थलहरुले अत्यन्त धैर्यतासाथ हामीलाई पर्खेर बसिरहेका छन् । प्राचीनकालदेखि मानव समाजले निर्माण गरेका तिनै रमणीय तीर्थस्थलहरु पुगियो भने मनै प्रफुल्ल हुने गर्दछ । त्यसरी तीर्थस्थलहरुको यात्रा गर्दा मुख्यतयाः मैले दुईवटा फाइदाहरु पाउने गरेको छु । पहिलो प्राकृतिक सौन्दर्यताको अवलोकन र दोश्रो खोपडीभित्र नयाँ ज्ञानको भण्डार ।
हामीलाई भाग्यले साथ दिएर यसचोटी अलिक फरक तीर्थस्थलयात्राको तय गरेका थियौं र, सदावहर भ्रमणमा हामीलाई साथ दिनुहुने परेवा जोडी भाइकृष्ण र सानु बहिनीपनि हामी सँगसँगै हुनुहुन्थ्यो । उहाँहरुसँग ब्लुमस्क, टर्कीदेखि पानामा नहरसम्म पुगेका थियौं । अथवा भनौं, नर्वेजियन फोर्डको रमणीय पहाडहरुको स्वाद चाख्दैचाख्दै रोमको कोलोशियममा पुगेर त्यसको वरिपरि लुकामारी खेलेर आनन्दित भएका थियौं ।
हामी जहाँजहाँ पुगिरहेका थियांै, भाग्यमानी पाइतालाहरुले हामीलाई राम्ररी साथ दिइरहेका थिए । फेरि अनायसै बहँदै आएको समयको हुरीले हामीलाई २०१५ को जुलाई १० तारिखका दिन ग्रीसको एउटा सानो गाउँ ‘ओलम्पियामा’ पुरयाइदिएको थियो ।
ओलम्पिया गाउँको तिनै रङ्गशालामा इसापूर्व ७७६ मा प्रथम प्राचीन ओलम्पिक खेल सम्पन्न भएको थियो । हामी त्यहाँ पुगेर मारामारी एकसय मिटर दौडेका थियौं । तर, सबैभन्दा हाँसो उठ्दो कुरोचाहिँ के भयो भने यस धर्तीमा करिब छ दशक जीवन जिइसकेका र सेताम्मे दाह्रीजुङ्गा पाकेको म बुढोले नै उनीहरु तीनजनालाई दशहात पछाडि पार्दै विजय हात पारेको थिएँ अनि हाम्रो अहोभाग्यले जुराएर प्राचीनकालको त्यो रङ्गशालामा भएको प्रतिस्पर्धात्मक दौडपछि ओलम्पिक गाउँलाई दिनभरि समय खर्च गरेर बेलुकी पानीजहाजमा फिरेका थियौं ।
२६ सय तिर्थयात्री र एकहजार जहाजका कर्मचारीसहित नर्वेजियन जेडले बेलुकीको सात बजे तीनचोटी ठूलो हर्न बजाउँदै ओलम्पिया बन्दरगाहलाई सधैसधैका लागि छाडिराख्यो । त्यसपछि पानीजहाजले भूमध्यसागरमा क्रमशः बाह्र घण्टाको यात्रा पूरा गरयो । बिहानीपख हामी आँखा मिच्दैमिच्दै ब्युँझदा पानीजहाजले पिरेसस बन्दरगाहमा आराम गरिसकेको कुरो जहाजका कप्तानले ध्वनि प्रशारक यन्त्रदेखि जानकारी गराएको थिएँ ।
केहीबेरमा हामी चारैजना भेला भयौं । त्यसपछि हतार–हतार बिहानीको खाजा खानाको लागि जहाजको १० औं तलामा चढ्यौ । खाजा खाने क्रममा हामीले त्यहाँदेखि टर्कीको क्षितिजदेखि उदाएको सूर्यको किरणले पिरेसस बन्दरगाहनजिकको सामुन्द्रिक पानी चाँदीझै टलक्कै टल्किरहेको राम्रोसँग नजर लगाइरह्यौं तर, मलाई त्यस नजरले दिलाएको खुशीभन्दा जिन्दगीमा पहिलोचोटी पश्चिमी सभ्यताका महान दार्शनिकहरु सुक्रोटिस र प्लेटोको जन्मघर पुग्दा मन फुरुङ्ग भएर रुवाझैं हावामा उडिरहेको थिएँ ।
जुलाई महिनामा एथेन्सको मौसम ज्यादै गर्मी थियो । तातोतातो चिया र त्यहाँको मौसमले मलाई चिटचिट पसिना आउन थालेका थिएँ । केहीबेरपछि पानीका बोतल, सहरको नक्सा, क्यामेरा र पासपोर्ट खाँदेको एकएक वटा झोला काँधमा भिरेर हामी जहाजको ग्याङ्गवेमा झरयौं त्यसपछि, सरासर हिँड्दै ट्याक्सी स्टेसनमा पुगेका थियौं ।

पिरेसस ट्याक्सी स्टेसनमा भएको प्रचण्ड गर्मीले गालादेखि तपतप पसिना चुहाउँदै ट्याक्सी चालकले शुभबिहानी ‘कालिमेरा’ भनेर हामीलाई न्यानो स्वागत गरे । उनैको ट्याक्सीमा चढेर एथेन्स घुम्नको लागि तयार भयौं । ट्याक्सीभित्र हैकम जमाएपछि चालकले उसको नाम निकोलस भनेर सुनाए । निकोलसले पिरेसस बन्दरगाहदेखि केही अगाडिको बिफल्टे भन्ज्याङ छिचेलेर सानो डाँडाको टुप्पामा पुगेर ट्याक्सीलाई खक्रक्कै रोक्यो । हजारौ सपनाहरुसँग रुमलिएका हाम्रा मनहरु सहरको दृश्यावलोकन गर्न एकदम आतुर थिएँ, त्यसैले ट्याक्सी रोकिने बितिक्कै झरीहाल्यौं ।
निकोलसले चालक र पथप्रदर्शक दुवैको काम सँगसँगै गरिरहेका थिएँ । निक्कै फुर्तिलो र फरासिलो मिजासका धनीले थोरै अंग्रेजी र धेरै ग्रिक भाषामा भटभट्याउँदा हामीलाई उसको भाषा बुझ्न हम्मेहम्मे परिरहेको थियो । तैपनि त्यँहादेखि देखिएको सुन्दर सहरको रमणीय घरहरु, डाँडाकाँडाहरु र विभिन्न रङ्गशालाहरुको मनोरम दृश्यले मुखदेखि जीब्रो निस्केर भाग्न खोजिरहेका थिएँ ।
हामीले तीनै डाँडोमा २० मिनेट जति समय खर्च गरयौ । त्यसपछि, सन् २००४ मा भएको गृष्मकालिन ओलम्पिक रङ्गशाला ‘स्पारोस लोइज’ लाई दाहिने तिर बनाएर उसलेएकरफ्तारमा ट्याक्सी हाँकिरह्यो । तिनै बहुचर्चित ग्रिक धावक स्पारोस लोइजले सन् १८९६ मा भएको प्रथम आधुनिक म्याराथन दौडमा स्वर्णपदक जितेका थिएँ । केहीबेरमा ग्रिसका प्रधानमन्त्रीको कार्यालयलाई राजमार्गको दाहिनेतिर पार्दै प्रथम आधुनिक गृष्मकालीन ओलम्पिक रङ्गशालामा पुगेर ट्याक्सीको चक्काहरु दोस्रोचोटी रोकिएँ ।
बेलायती कठङ्ग्रिदो हिउँदे मौसमले जलिरहेको मन र मस्तिष्कलाई फुरुङ्गै बनाउँदै अघिल्लो बिहान प्राचीन ओलम्पिक रङ्गशाला, ओलम्पियामा पुगेर सयमिटर दौडेका थियौ । भोलिबिहान प्रथम आधुनिक ओलम्पिक रङ्गशाला पुगेर दुईसय मिटर दौडेर आनन्दित त त्यसै भयौं । तर, सेतासेतासिङ्गमरमरद्वारा निर्मित विश्वको एउटै मात्र रङ्गशालाको हरेक सिटहरुमा नजर डुलाउँदा मेरो मुखबाट हल्का रयाल चुँहिन थालिसकेका थिए ।
८० हजार दर्शक अटाउने त्यति आकर्षक रङ्गशालालाई अब बुईपा, खोटाङमा जाँदा कुन शब्दले वर्णन गर्न सकिएला भनेर म भित्रभित्रै पिरले जलिरहेको थिएँ । अझै त्यति मात्रै कहाँ हुनु र ? बिहानीको सूर्यको किरणले टलक्कै टल्केका ती मार्वलको सुन्दरताले उल्टो पीडा दिएर झन थरथर काम्न पो थालिसकेको थिएँ ।
निक्कै अबेरसम्म रङ्गशालाको अवलोकन गरेपछि, बिहानीको घामसँग लुकामारी खेलिरहेको वरिपरिको आकर्षक डाँडो र सिधै अगाडिको समथर जमिनलाई नियाल्दै ट्याक्सी सुस्तरी ओरालै ओरालो हुइँकिन थाल्यो । त्यसपछि सिधै मुनी समथर भूमीमा रहेको ‘टेम्पल अफ जेयस’ लाई ताकेर केहीबेर अगाडि बढिरह्यो ।
ट्याक्सी ग्रिक ओलम्पियन देवता जेयसको मन्दिर नजिकै पुगेर रोकिएको थियो । ट्याक्सी रोकिने बितिक्कै हाम्रा कदमहरु जेयसका मन्दिरतर्फ अगाडि बढेका थिएँ । इसापूर्व छैटौ शताब्दीदेखि मन्दिर बनाउन शुरु गरिएको भएपनि त्यसको ६३८ वर्षपछि मात्रै रोमन सम्राट हाडरियनले मन्दिरको निर्माण कार्य सु–सम्पन्न गरेका थिएँ । त्यस मन्दिरलाई थाम्नका लागि १०४ वटा ‘कोरिथिएन’ मार्बलदेखि बनेका बलिया बलिया स्तम्भहरुको प्रयोग भएका थिएँ ।
पाठकहरुलाई स्मरण रहोस्, ग्रिक सभ्यताले ‘डोरिक, आएनिक र कोरिथिएन’ गरेर तीन प्रकारको ठूल्ठूला स्तम्भहरु प्रचलनमा ल्याएका थिएँ । जसलाई लण्डन, पेरिस र वासिङ्गटन डिसीको सबैभन्दा महत्वपूर्ण महलहरुमा प्रयोग गरिएका मैले एथेन्स पुग्न अगाडि नै नजर लगाइसकेको थिएँ ।
लगभग २६ सय वर्ष पहिले निर्माण गरिएको जेयसको मन्दिरले इतिहासको कालखण्डमा विभिन्न युद्ध र महाप्रलय भोगेका थिएँ । तर भग्नावशेष रुपधारण गरिसकेका मन्दिरको १५ वटास्तम्भहरु अहिलेसम्म ज्युँकात्युँ ठाडै उभिरहेका हामीले देखेका थियौं ।
१७ मिटर अग्ला र २ मिटर चौडाइ भएका तिनै भिमकायाँ स्तम्भहरुमध्ये एउटा स्तम्भ सन् १८५२ मा ढलेर भुईमा लम्पसार परेर सुतिरहेकाछन् । त्यसलाई देखेपछि, मेरो अनुहारलाई निन्याउँरो बनाउँदै तीनकुनेको दुँभो चोर्ने देशभक्ति नेपाली मनहरुलाई एथेन्समा पुगेर मज्जाले स्मंरण गरेका थिएँ किनभने, त्यति पुरानो इतिहास बोकेको तर भूकम्पले बङलङ्गै ढलेको खम्बाको टुक्राहरु चोर्ने हिम्मत नगरेका सभ्य एथेनियन जनताहरुप्रति मैले हृदयदेखि उच्च सम्मान गरिरहें ।
हामी त्यस्तो ऐतिहासिक स्थलमा बल्लबल्लटाउकोले टेकेर पुगेका थियौं । त्यसैले मन्दिरलाई त्यति चाँडै छाडिहाल्न पटक्कै हाम्रा मनले मानिरहेका थिएनन् । तर विधिको विडम्वना त्यस्तो थिएन । पानीजहाजमा हसुरेको बिहानीको खाजाले केही समय अगाडिनै बिदा मागिसकेका थिएँ । लोभी आँखाहरुले मनोरञ्जन लिइरहेकै भएपनि हाम्रा पेटहरु पटक्कै खुशी थिएनन् । त्यसैले जेयसको मन्दिरलाई १० औंला जोडेर नमस्कार गर्दै दिउँसोको लञ्च खान नजिकैरहेको ग्रिक रेस्टुँरातिर लागिहाल्यौं ।
एथेन्सको स्थानिय रेष्टुँरामा भूमध्यसागरीय भोजन टन्न खाएपछि मेरा पेट बल्लबल्ल खुशी भएको थिएँ । तर ट्याक्सीमा चढ्नेबितिक्कै मलाई किन हो किन त्यहाँका सडकहरु, बत्तीका खम्बाहरु, सस्याना जैतुन रुखका पोथ्राहरु, आकर्षक घरहरु अनि समथर जमिनको बीच भागमा एक्कासी ह्वात्तै उठेका आक्रापोलिस डाँडा देखेर मेरो हृदयमा खुशीका तरङ्गहरु मज्जाले जोडिरहेका थिएँ । अनि तिनै रमणीय डाँडाले मेरो तन र मन दुवैलाई लामो समयसम्म आकर्षण गरिरहेको थियो ।

म निक्कै टँठिलो मुद्रामा ट्याक्सीको अघिल्लो आसनमा आरामले बसिरहेको थिएँ अनि त्यति फराकिलो राजमार्गमा ट्याक्सी प्रतिघण्टा चालिस किलोमिटरको गतिमा हुइँकिइरहेको समय समयमा मैले नजर लगाइरहेको थिएँ । ट्याक्सी खुला सडकमा केही अगाडि बढेर ट्राफिक बत्तीबाट बायाँ घुम्ने बितिक्कै खटक्क गरेको आवाज मेरो कानमा आएर ठोकियो ।
कसोकसो त्यति बिरमाइलो आवाजले उकालीमा गियर घट्नुको साथसाथै गति पनि घटेको मैले अनुभुत गर्न थाले । त्यसबेला मेरा आँखाका ढकनिहरु एकसेकेण्ड पनि झिम्म भएका थिएनन् बरु एकोहोरो एथेन्सलाई क्वारक्वार्ती नियालिरहेको थिएँ । तर हामी चार जनालाई सकिनसकी बोकेर आक्रापोलिसका घनघश्या उकालो चँढिरहँदा ट्याक्सीलाई परेको मर्मले मेरो हृदय थोरै बेचैन बनिरहेको थियो ।
एथेन्स सहरको बीच भागदेखि सिधै माथि उठेर टाउकोमा समथर भएको त्यति सुन्दरडाँडामा अवस्थित एथेना देवीको मन्दिर अवलोकन गर्न उकालो लागिरहँदा मेरो मनचाहिँ त्यहाँदेखि उडेर अन्त कतै गइसकेका थिएँ । किन हो किन, मलाई एथेनाको नामदेखि बनेका एथेन्स आफ्नै घर आँगन जस्तै प्रिय लागिरहेको थियो । हुनत १८ वर्षको कलिलो उमेरमा मैले गाउँ छाडेर यतिबेला सम्म फिरङ्गी जीवन बिताइरहेको थिएँ । अहिले औलामा गन्दा ठेक्कै त्यसको दुई दोब्बर अथवा ३६ वर्ष पूरा भइसकेका रहेछन् । त्यसैले मलाई त्यसबेला नेपाल स्वदेश र ग्रिस परदेश जस्तो पटक्कै लागिरहेको थिएनन् ।
एकबारको जीवन जिउने क्रममा पृथ्वीलाई कति चक्कर लगाइयो होला भनेर अहिलेसम्म ठयाक्कै एकिन गर्न सक्दिैनथें तर, म जहाँजहाँ पुगेको थिएँ, निश्चय नै उताउतै रमाएका थिएँ । मलाई बेइजिङ, बैंकक, बोस्निया, बर्लिन, ब्राटिस्लाभा, बर्मिङ्घाम र बोस्टन सहरहरु पुग्दा ती सबै आफ्नै सहरहरुझै लागिरहेको थियो । कोलम्बियाको केरा, इटालीको अङ्गुर र साइप्रसको सुन्तलाको स्वादमा मैले नेपालको भन्दा केही फरक स्वाद पाएको थिइनँ । मैले उतातिर पुग्दा उतैको खाना खाएँ र त्यतैको भाषा बोल्ने प्रयत्न पनि गरें । त्यसैले मलाई जहिले पनि हाम्रो यो सानो संसार नै हामी सबैको एउटा सुन्दर घर हो जस्तो लागिरहेको हुन्थ्यो ।
मलाई कहिले पनि माउन्ट एभरेस्ट आफ्नो र माउन्ट टिटलिस पुगेर त्यो स्वीटजरल्याण्डको मात्रै हो भन्न मेरो दिलले मानेको थिएनन् । बरु यो संसारमा जेजति छन् ती सबै हाम्रै हुन । र, सबैले मिलेर यस धर्तीलाई जोगाउनु पर्छ भन्नेमात्र लागिरहन्थ्यो किन हो किन, मलाई भित्री आत्मादेखि नक्कली राष्ट्रवादको भूत कहिलेपनि चढ्न सकेको थिएनन् । त्यसैले मलाई एउटा मात्र देशको देशभक्ति हुनभन्दा पृथ्वीभक्ति हुन जहिलेपनि मन लागि रहन्थ्यो ।
अनि कहिलेकाही यस्तो लाग्थ्यो । हामी जुनसुकै राष्ट्रमा बसेपनि केवल मानव मात्र हौ । एकले अर्कोलाई दोषारोपण गरेर दुश्मनी पैदा गर्न भन्दा सदैव मानवीय हितको लागि सोचियो भने त्यो नै सबैभन्दा उत्तम हुन्छ जस्तो लाग्दथ्यो । यदि वास्तविक यथार्थलाई स्वीकार गर्ने हो भने राष्ट्र राष्ट्रको सीमानाले मानिसका विचारहरुलाई कहिलेपनि रोक्न सक्दैन रहेछन् । सायद त्यसैले हुनसक्छ माक्र्स, एङ्गेल्स र आइन्सटाइनका महान विचारहरु विश्वभरि छरिएर रहेका छन् तर, दुर्भाग्यवस उनीहरु कहिलै पनि आफू जन्मेको देशमा मात्रै अटाउन सकेनन् ।
ट्याक्सी आफ्नो रफ्तारमा गुडिरहेको थियो । केहीबेरमा मूल सडक छाडेर हामी बायाँतिर रहेको कारपार्कमा पुगेका थियौं । त्यहाँदेखि आ–आफ्नो झोला बोकेर उकाली चढ्न थाल्यौ । निक्कै लामो समयसम्म उकाली चढेपछि पार्थिननको मुख्य ढोकामा रहेका महान दार्शनिक प्लेटोलाई अभिवादन गर्दै हाम्रो कदमहरु क्रमशः अगाडि बढिरहेको थियो ।

आक्रापोलिस डाँडामा मध्यान्हको प्रहर थियो । त्यसैले हामी थोरै भूमध्यसागरीय घामले डढिरहेका थियौ । तर, समय समयमा डाँडामा आउने सितल बतासले हामीलाई थोरै राहत दिइरहेको थियो । आक्रापोलिस डाँडाको चारैतिर डरलाग्दा चट्टानदेखि बनेका भिराला पहरालाई देखेर हाम्रो आङ जिरिङ्गै हुने गर्दथे । यस्तो लाग्थ्यो, त्यहाँदेखि बल्ढङ्गै लडिएर झरियो भने सिधै बैकुण्ठबास पुगिन्थ्यो होला ? अनि पहराको विशाल छातीमा पछारिदै तल समथर जमिनमा पुग्दा मुस्किलले शरीरको एकदुई चोइटो मासु र हड्डी मात्रै बाँकी रहन्थ्यो होला ? त्यसैले हामी कतै झ्वाम्म तल खसिहालिएला कि भन्ने त्रासले त्राहित्राही भइरहेको थियौ ।
तर त्यहाँदेखी टाउकोलाई फनफनी घुमाएर हेर्ने हो भने एथेन्स सहरको पुरै ३६० डिग्री दृश्यवलोकन गर्न मज्जाले सकिन्छ । हामी डाँडामा पुग्दा दिउँसोको समय करिब १ बजिसकेको हुनुपर्दछ । मध्याह्नको त्यति सफा मौसममा एथेन्स धपक्कै बलेको जस्तो हामीलाई अनुभूत भइरहेको थियो । हामी भन्दा अगाडि त्यहाँ पुगेका बुढाबुढी, अधबैसे तरुनीहरु र फाच्चेफुच्चे बच्चाहरु जताततै हिँडिरहेका देख्न सकिन्थे । यतिकैमा एकजना बेलायती युवकले उसको प्रेमिकालाई औंठी लगाइ दिएर विवाहको प्रस्ताव गरेको रमाइलो दृश्य हाम्रो अगाडि देखापरयो ।
त्यस्तो दृश्यबाट सर्लक्कै नजर हटाएर छोटाछोटा जामा पहिरन गरेका स्कानडेनिभियन मुलका तरुनीहरुको सेताम्मे तिघ्राको शरण पर्दैपर्दै म केहीबेर एक्लै हिँडिरहेछु । युवतीहरु स्कानडेनभियदेखि आएको हुनुपर्छ भनेर उनीहरुले बोलेको भाषाद्वारा मैले चाल पाइसकेको थिएँ । त्यसै त उनीहरुको देशमा बढी जाडो हुन्थ्यो । त्यसैले ग्रिसमा भइरहेको गर्मीको फाइदा लिँदै तिघ्राहरुले सूर्यको शरण परेका हुन् भन्ने मलाई त्यसबेला लागिरहेको थियो ।
तर, अचानक कृष्ण भाइले दुरदृष्टि बाट, ‘दाई ! हामी यतातिर छौ है ?’ भनेर बोलाउँदा म झसङ्ग झस्केको थिएँ । उसको बोली सुनेपछि, ‘छ्या ! म के भएको हो ?’ एउटी स्त्रीको सवाङ्गै नग्न शरीर देखिसकेको मानिस जाबो स्वेडिस तरुनीहरुको नाङ्गो तिघ्राले एक्ल्याएर मलाई यो कुनासम्म एक्लै ल्याइपुरयायो भनेर झन मेरा अनुहार रातोपिरो भएका थिएँ । त्यसपछि, म केही बोल्दैनबोली उनीहरुलाई केहीबेर चुपचाप पर्खेर बसिरहें ।
युवतीहरुको पहिरनले आकर्षण गरेर छुट्टिएको हामी चारैजनाको भेट भएपछि डाँडैडाँडाको बाटो हिँडिरहेका थियौं । तर त्यतिकैमा इरेकथियन मन्दिरको नजिकपो पुगिसकेका रहेछौं । त्यहाँ पुगेपछि मन्दिरको दक्षिणी भागमा रहेका ६ जना युवतीहरुको मार्वल स्तम्भलाई मज्जाले नियालेर हेरयौं । तिनै युवती स्तम्भहरुको टाउकोले पुरै तलालाई दर्होसँग थामेको देख्दा हामी आश्चर्यमा परेका थियौं । इसापूर्व ४०६ मा निर्माण भएको तिनै इरेकथियन मन्दिरलाई पृष्ठभूमि बनाएर हामीले क्यामेरामा केही तस्वीरहरु पनि कैद गरिहाल्यौं ।
इरेकथियन मन्दिरबाट अलिकति मुन्टो दाहिनेतिर घुमाउने बितिक्कै एथेनादेवीको मन्दिरमा पुगेर हाम्रो अनुहार ठङरङ्ग ठोकियो । तर, एथेना देवीको त्यति सुन्दर मन्दिर ‘पार्थिनन’ लाई भेनेसनहरुले बम प्रहार गरेर छानो नै उडाइदिएको त्यो कालो इतिहास सम्झँदा हाम्रा आँखाहरु धमिला धमिला भएका थिएँ ।
मन्दिरका छानो उडेर गएपनि मार्बलका ४६ वटा स्तम्भहरु चाहिँ अहिलेसम्म शुन्य आकाश तिर उतानो फर्केर उभिरहको नजर लगाउन सकिन्छ । मैले त्यतिबेला नेपाली इतिहासमा आफ्नो स्वार्थ पूरा गर्न र मानव जीवनको विभत्स हत्या गर्नको लागि देशभित्र बम भित्रयाउने बमगुरु ‘प्रचण्ड’ सम्झेर आफ्नो अनुहार ङिस्स बनाइरहेका थिएँ ।

हामी निक्कै लामो समय सम्म त्यहीँ उँभिएर पार्थिननलाई हेरिरहेका थियौं । तर, मानवीय सभ्यताको पहिचान बोकेर दुई हजार वर्ष पहिले बनेको मन्दिरलाई बमले जीर्णोदार अवस्थामा पुरयाइ दिएको देख्दा हाम्रो हृदय खङरङ्गै भएका थिए । तैपनि मानव जातिको हृदय गौरवान्वित बनाउने पार्थिननको निर्माण इसापूर्व ४४७ देखि शुरु गरिएको थियो । र, इसापूर्व ४३८ मा मात्रै त्यसले पूर्णरुप लिएको थियो । तर पुरै मन्दिरलाई राम्रोसँग रङ्गरोकन भर्न अर्को चार वर्ष समय खर्च गर्नुपरेको थियो ।
त्यहाँ प्रयोग भएका सबै मार्वलहरु पेन्टिलिन पर्वतदेखि ल्याइएका थिएँ । र, त्यति प्रख्यात आक्रापोलिस पार्थिनन निर्माणका मुख्य कालिगढ चाहिँ अलौकिक शक्तिका धनी फेदियस नै थिएँ । मार्बलमा बनाइएका धेरैजसो आकृतिहरु उनी आफैले पनि कुँदेका थिएँ । त्यति ठूल्ठूला मार्बलका ब्लकहरु आधुनिक जमानाका औजारहरुको प्रयोगबिना कसरी डाँडामा ल्याइएका थिएँ होला भनेर म केहीबेर गमिरहें । प्राचीनकालमा निर्माण भएका विश्वको सातौ आश्चर्यलाई हेरेर हामी मात्रै होइन सबै पर्यटकहरुनै धेरै लामो समयसम्म आश्चर्य मान्दै टोलाइ रहेका थिएँ ।
हरेक मानवको कल्पना भन्दा निक्कै टाढा पुगेर बनेका आक्रापोलिसका पार्थिनन मानवीय सभ्यताका लागि एउटा राम्रो उदाहरणहो भन्नेमा दुईमत हुन सक्दैन । खेदको कुरो चाहिँ भेनेसनहरुले त केबल पार्थिननको छानो मात्रै उडाइदिएका थिएँ । तर, ओटोमान साम्राज्यले आफ्नो शासनकालमा आक्रापोलिसमा बाँकी रहेका जम्मै बहुमूल्य मार्बलहरु तत्कालीन बेलायती दुत थोमस ब्रसलाई बेचिदिएका थिएँ ।
स्कटल्याण्डमा जन्मेका थोमस ब्रस सातौ ‘अर्ल अफ एलजिन’ हुन् । उनले सयकडौ श्रमिकहरु लगाएर सन् १८०१ देखि १८१२ सम्ममा आक्रापोलिसमा भएको प्राचीन मार्बलहरु धमाधम भत्काउँदै बेलायतमा ओसारेका थिए । १२ वर्षभित्रमा ओसारिसकेका केही मार्बलहरुले उनको आफ्नो निबास स्कटल्याण्ड पुगेर बास पाएका थिएँ ।
अन्य मार्बलहरु चाहिँ ३५ हजार स्टर्लिङ पाउण्डमा बेलायती सरकारलाई बेचेका थिएँ । तिनै मार्बलहरुलाई बेलायत सरकारले ‘एलजिन मार्बल’ भन्ने नामाकारण गरेका थिएँ । र, विश्वको सबैभन्दा प्रख्यात तर अति विवादस्पद एलजिन मार्बललाई सरकारले बेलायती सङ्ग्राहलय लण्डनमा ज्यादै सुरक्षित तरिकाले राखेका छन् ।

बेलायती सङ्ग्राहलयमा भएको त्यतिक्कै प्रख्यात ढुङ्गा ‘रोजेटो स्टोन’ को विषयमा मैले धेरैचोटी सुनेको थिएँ । करिब २ हजार वर्ष अगाडि तीन प्रकारको भाषामा लिपिबद्ध भएको त्यो ढुङ्गालाई नेपोलियनको सिपाहीहरुले मिश्र कब्जा गर्दा हजारौं वर्ष पहिले जमिनमा गाडिएका अवस्थामा भेटेका थिएँ । त्यो चाल पाएर बेलायती सैनिकले फ्रेन्च सैनिकलाई मिश्रमा आक्रमण गरेर रोजेटो स्टोनलाई बेलायत ल्याएका थिएँ ।
३० वर्ष अगाडि प्रथम पटक हङकङदेखि बेलायत पुग्दा तिनै ढुङ्गाको दर्शन गर्न बेलायती सङ्ग्राहलय, लण्डन पुगेको थिएँ । ‘ढुङ्गा खोज्दै जादाँ मलाई देउता मिलेको थियो ।’ म कसोकसो झुक्किएर ठङरङ्गै ‘एलजिन मार्बल’ भएको विशाल कोठाभित्र छिर्न पुगेछ । तिनै अतितलाई एलजिन मार्बलको उदगम स्थल आक्रापोलिस डाँडामा भाव विह्वल अवस्थामा स्मंरण गरिरहको थिएँ ।
जब सन् १८३२ मा ग्रिस स्वतन्त्र भयो । तब ग्रिसले एलजिन मार्बललाई यथास्थानमा फर्काउनको लागि अनेकन प्रयत्नहरु गर्दै आएका थिए । अझै अन्तराष्ट्रिय छवि राम्रो होस् भन्ने उद्देश्यले अति प्रख्यात पुर्व नायिका मेलिना मरकरीलाई ग्रिस सरकारले सन् १९८३ मा ‘मार्बल फर्काउने मन्त्री’ सम्म बनाएको थियो । दुर्भाग्यबस उनी पनि मार्बललाई पार्थिननमा फर्काउन सफल हुन सकिनन् । अन्तमा तिनै कारणले उनको इहलिला समाप्त भयो ।
थेसोलेनिकी, ग्रिसका जन्मेर अक्सफोर्डमा बस्ने उदाहरणीय पापान्ड्रेयले बेलायती सङ्ग्रालय पुग्दा, ‘मेरा आशुँ छचल्किएर पोखिएका छन्, एक हिसाबले भन्ने हो भने बेलायतीहरु मार्वल चोरनै हुन्,’ भनेको सम्झँदा मेरो हृदय टाल्न नमिल्ने गरेरफाँटेका थिएँ । त्यसै गरेर हरेक वर्ष लाखैलाख ग्रिक नागरिकहरु बेलायती सङग्रालय पुगेर पार्थिननको एलजिन मार्बललाई नजर लगाएपछि आँशुको भेल बहाएर स्वदेश फर्कने गरेकाछन्, उनैले भनेका थिएँ ।
सुश्री उराणियको भनाइलाई सम्झिँदै गर्दा मैले नजर लगाएको विश्वको सर्वाधिक प्रख्यात सङ्ग्राहलयहरु लुभ पेरिस, हर्मिटेज सेन्ट पिटर्सबर्ग र बेलायती सङ्ग्रालय लण्डनको एकअर्कामा निक्कै लामो समयसम्म तुलना गरिरहेको थिएँ । यदि लण्डनदेखी एलजिन मार्बल नै हटाइदिने हो भने श्रीपेच पहिरन गरिरहेको बेलायती सङ्ग्राहलयको महत्व बङ्लङ्गै खस्केर तालिकाको पुछारमा पुग्थ्यो होला भन्ने मलाई धेरैबेरसम्म लागिरह्यो ।
खयर जेसुकै होस् । एकबारको जुनीमा यति धेरै डाँडाहरु काट्न उकाली चढियो । त्यस्तै समथर ब्याँसिहरुमा पुग्न कैयन ओरालीहरु झरिए । अनगिन्ती सुरुङहरु छिरिए, असंख्य नदीहरु तरिए, घुर्माइला नागी फाँट र भन्ज्याङमा बेस्सरी थकाई मार्दै विभिन्न तिर्थस्थलहरुको दर्शन गरिए ।
तर, पश्चिमी सभ्यताका महामानवहरु सुक्रोटिस, प्लेटो, अरिस्टोटल र अलेक्ज्याण्डर महानले आक्रापोलिस डाँडामा पारेको पाइतालाको डोबहरुमा आफ्नो मरिन्च्यासे बाँदरे पाइतालाहरु पार्दा जीवनभरि पालेको रहर पूरा भयो भन्दै म औधि प्रशन्न मुद्रामा खुशादशि, टर्कीतिर प्रस्थान गरेका थिएँ ।
-बुइपा, खोटाङ, हालः अक्सफोर्ड, बेलायत

प्रकाशित मिति: मंसिर २९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • १० घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend