विराटनगरः मोरङको रङगेली नगरपालिका–३ का १९ वर्षीय विनोद यादव भाउजुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।
बुधबार बिहान साढे ७ बजेको समयमा रङगेली नगरपालिका–३ तिलुवा चौकको नहरमा मृत फेला परेकी २४ वर्षीया अनिता यादवको घाँटीमा काटिएको पाएसँगै अनुसन्धान थालेको प्रहरी टोलीले मृतककै देवर विनोदको संग्लग्नता रहेको पाएपछि उनलाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
मृतक अनिता र देवर विनोदबीच मंगलबार साँझ झगडा भएको र सोही रिसिइवीका कारण विनोदले राति ८ बजे धारिलो हतियार दाउले घाँटीमा प्रहार गरी भाउजुको हत्या गरेका थिए । पक्राउ परेका यादवको सम्बन्धमा इलाका प्रहरी कार्यालय रङगेलीले थप अनुसन्धान गरिरहेको छ ।
बुधबार बिहान पानी नरहेको नहरको बीच भागमा घाँटी रेटिएको अवस्थामा यादवको शव फेला परेको थियो । लगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले हत्या आरोपमा देवर १९ वर्षीय विनोदलाई पक्राउ गरेको हो ।
महिलाको शव भेटिएपछि प्रहरीले अनुसन्धानका लागि मृतकका पति बेचन, सासू, ससूरा र देवरलाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा देवरले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका थिए ।
उनले नहरको ढिलबाट लडाएर धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । देवर विगतदेखि नै परिवारसँग झगडा गरिरहने गर्दथे । हत्यापछि फरार रहेका विनोदलाई प्रहरीले घरबाहिर लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । उनको दुई वर्षअघि विवाह भएको थियो ।