धरानः धरान–८ निवासी दीपा राई सामाजिक कार्यमा सक्रियरुपमै लागेकी छिन् ।
यसअघि पनि विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेकी उनले यसपटक पनि निरन्तरता दिइन् । उनले लामो समयदेखि गरिब र विपन्न वर्गका मानिसलाई आफूले सकेको सहयोग गर्दै आएको उनी बताउँछिन् । ‘माग्न आउँछन्, खाने केही छैन भन्छन्, दया लाग्छ सकेको सहयोग गर्छु’, उनले भनिन् ।
विशेषगरेर कोभिड–१९ का कारण ज्याला मजदुरी गरेर खानेहरुको रोजगार टुटेको छ । यस्तो अवस्थामा दीपा राईले सकेको खाद्यान्न सामग्री दिँदै आएकी छिन् ।
यसैक्रममा धरान–८ कै १७ सुकुम्बासी तथा विपन्न परिवारलाई राईले दाल, चामल, नुन, तेल वितरण गरेकी छिन् । यसपाली दोश्रो लकडाउन भएदेखि अहिलेसम्म लगभग २ सय बढी विपन्न परिवारलाई आफूले खाद्य सामग्री वितरण गरेको राईले बताइन् ।
महामारीको बेला होस् वा अरुबेला होस् असहाय र दुःखी गरिबलाई सबैले मानवीय सहयोग गर्नुपर्ने राईको भनाई छ । उनी भन्छिन्, ‘मरेर लानु केही छैन, धन, सम्पत्ति, सुनचाँदी सँगै लगिने होइन, त्यसैले बाचुञ्जेल मानवीय भावनाका साथ सहयोग गरयो भने धर्म हुन्छ भने ठानेकी छु ।’

