धरानः यसवर्ष मनसुन सुरू भए यता जेठ ३१ गतेदेखि आइतबारसम्म देशका विभिन्न जिल्लाहरूमा मनसुनजन्य विपद्का २२६ घटना भएका छन्। जसबाट सिन्धुपाल्चोक, बाजुरा, गोरखा, तनहुँ, धादिङ, चितवन, डोटी लगायतका २२ जिल्लामा ३९ जनाको मृत्य, ३१ जना बेपत्ता र ४६ जना घाइते भएका छन्।
गृह मन्त्रालयका अनुसार २०७८ असार १९ मा परेको अविरल वर्षाका कारण सुनसरी जिल्लाको थला खोला, ट्याङग्रा खोला, बुढी खोला, केशलिया खोला, धनुष खोलामा बाढी आई आसपासका करीब २०० घरहरु डुबान भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। पीडितहरुलाई स्थानीय विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति तथा सुरक्षा निकायहरुको सक्रियतामा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। सोही दिन पर्सा जिल्लाको सिर्सिया खोलाको बाढीले डुबानमा परेका ३१ घर परिवारलाई स्थानीय प्रहरीको सक्रियतामा सुरक्षित स्थानमा स्थानन्तरण गरिएको छ।
त्यस्तै, मनसुनजन्य विपद्का घटनाबाट मानवीय क्षतिका साथै सयौं घर परिवार विस्थापित भएका छन्। हालसम्म सिन्धुपाल्चोक, मनाङ, लम्जुङ, कास्की, गोरखा, अर्घाखाची, खोटाङ, तनहुँ, सर्लाही लगायतका जिल्लाहरुमा ५०५ निजी घर पूर्ण रूपमा क्षति भएका छन् भने ११२ घरहरूमा आंशिक क्षति भएको छ। विभिन्न ३६ सरकारी कार्यालयका भवनहरू क्षतिग्रस्त भएका छन्। त्यसैगरी ९ विद्यालय तथा सामुदायिक भवनमा क्षति पुगेको छ