धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले यसअघि लेख्दै आएको प्राध्यापक पद हटेको पाइएको छ ।
उनको सो पद विवादित बनेको थियो । प्रतिष्ठानमा आन्दोलनरत पक्षले प्राध्यापक होइन भनेर प्रश्न गर्दै आएका थिए । डा गिरीले पनि आफू प्राध्यापक भएको भन्दै नामको अगाडि प्राध्यापक लेख्दै आएका थिए । तर अहिले उनले नामको अगाडिबाट प्राध्यापक लेख्न छाडेका छन् । सोमबार उनले जारी विज्ञप्तिमा प्राध्यापक लेखिएको छैन ।
डा. गिरीले अमेरिकाको कोलोराडो युनिभर्सिटी अफ हेल्थ साइन्स सेन्टरबाट प्राध्यापक पदवी पाएको दाबी गरेका थिए । तर सो युनिभर्सिटीले डा. गिरीको दाबी अस्वीकार गरेको थियो ।
यसैबीच सोमबार प्रतिष्ठान परिसरमा भएको तोडफोडको घटनाप्रति ध्यानाकर्षण भएको जनाइएको छ । शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनालद्वारा जारी विज्ञप्तिमा अस्पतालजस्तो संवेदनशील क्षेत्रमा कुनैपनि नाममा हुलदंगा हुनु, तोडफोड हुनु निन्दनीय कुरा र यस किसिमको क्रियाकलापको हामी निन्दा गर्दछौं भनिएको छ ।

