अहिले दिनहुँजसो सवारी साधन दुर्घटनामा परेको खबरहरु बाहिर आइरहेका छन् । अहिले मृत्युको प्रमुख कारणमध्ये सडक दुर्घटना पनि एक हो भन्दा फरक नपर्ला । मेरो विचारमा यात्रुहरुको अत्याधिक चाप र थोत्रा गाडीका कारण सवारी साधन दुर्घटनामा पर्ने गरेको पाइएको छ । जसले गर्दा वर्षेनी हजारौंले ज्यान गुमाउनपरिरहेको छ । यसलाई मध्यनजर गर्दै नेपाल सरकारले २० वर्षे पुराना गाडी विस्थापन गर्ने निर्णय गरेको थियो तर पनि कार्यान्वयनमा केही समस्या अझै छ । २०७१ भदौ २६ गतेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत दियो । सोही वर्षको फागुन १८ गतेको राजपत्रमा उक्त निर्णय प्रकाशित भयो । २०७२ चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले २०७३ साल फागुन १७ गतेसम्म २० वर्ष पुगेका गाडीहरु बागमती अञ्चलबाट विस्थापन गर्ने निर्णय गरयो ।
त्यस्तै, २०७४ चैत १ गतेबाट देशभरका २० वर्ष कटेका सवारी साधन हटाउने भनिएको थियो । सो मितिमा दर्ता भएको मितिले २० वर्ष पुगेका गाडीहरु सरकारले देशभरबाट विस्थापन गरयो । त्योभन्दा पछि २० वर्ष नाघेका गाडीहरु विस्थापन गरिएको छैन । गाडीहरु हरेक दिन २० वर्ष पुगिरहेको हुन्छ । तर, ती सवारी साधनलाई चल्नबाट प्रतिबन्ध लगाइएको छैन । ट्राफिक प्रहरी महाशाखाले पनि २० वर्ष कटेका गाडीहरु अनुगमन गरेको छैन । जसरी मान्छेको उमेर बढ्दै जान्छ सवारी साधनको पनि उमेर बढ्छ । अहिले १९ वर्ष पुगेका सवारीहरु अर्को साल २० वर्ष पुग्छ । अहिले पनि २० वर्ष कटेका गाडीहरु देशभरिका सडकमा गुडिरहेको छन् । तापनि २० वर्ष कटेका सवारी साधनको बिलबुक चेकजाँच गरिएको पाइँदैन । कानुनले नै चल्न नपाउने भनेर तोकिदिएपछि पनि बीस वर्षे गाडीहरु बाटोमा गुडिरहेको छन् ।
अहिले बस, माइक्रोबस, सफा र टेम्पो, ट्याक्सी आदि २० वर्ष पुगिसकेका छन् तर पनि यी सवारीहरु निस्फिक्री भएर गुडिरहेको छन् । त्यसैले २० वर्ष नाघेका सवारी साधनको नम्बर प्लेटमा नयाँ गाडी किनेर दर्ता गर्नमा बन्देज लगाउनुपर्दछ । २०७० सालमा यातायात मन्त्रालयले जनताको हितमा निर्णय गरेको थियो । निर्णय भएअनुसार २०७१ वैशाख १ गतेदेखि दर्ता हुन आएका गाडीको बिलबुक र ढड्डामा चल्ने अवधि लेखिदिने भनिएको थियो ।

यो निर्णय सार्वजनिकमा मात्र नभई निजी सवारीमा पनि लागू गर्ने निर्णय भएको थियो । यातायात व्यवसायीको दबाबमा यो निर्णय कार्यान्वयनमा आएन । अहिले जतिपनि सार्वजनिक यातायातमा यात्रा गर्ने जनताहरु दुर्घटनामा परेर मरेका छन् त्यसको प्रमुख कारण नै थोत्रा गाडी चलाउनु पनि एक हो भन्छु म । साथै, २६ सिट स्वीकृत पाएका गाडीहरुले ५० जना यात्रु कोचेका छन् । कण्डिसन ठीक नभएका, २० वर्ष कटेका गाडीहरुले चल्न दिनु नै दुर्घटनामा पारेर मान्छे मार्नलाई प्रोत्साहन गर्नु हो । गाडी चढ्ने यात्रुलाई कति वर्ष पुराना गाडीमा यात्रा गरिरहेको छौ भन्ने बारे केही ज्ञान छैन ।
सो क्षेत्रको सरकारलाई पनि यसविषयमा अत्तोपत्तो छैन । दुर्घटनामा परेर मान्छे मरे पनि के कारणले दुर्घटनामा परयो खोतलिँदैन । जतिपनि सवारी साधन दुर्घटनामा पर्छन् ती चालकको लापरबाही र थोत्रा गाडीको आवागमनको कारणले हो । ४० प्रतिशत प्रदुषण पुराना गाडीले गर्दा भएको हो भनेर विज्ञहरु भन्दै आएका आएका छन् । यदि प्रदुषण कम गर्ने हो भने पुराना गाडी चल्नमा प्रतिबन्ध लगाउनुपर्दछ ।
यस्तै, सडकको डिजाइन र सडकले थेग्न नसक्ने किसिमका सवारीसाधनको सञ्चालनले पनि दुर्घटना बढ्दै गएको हो । यान्त्रिक गडबडीले पनि पछिल्लो समय धेरै दुर्घटना बढ्दै गएका छन् । यस्तै, अधिकरूपमा सवारीसाधनमा नक्कली पार्टपुर्जाका कारण पनि हुन् । यात्रुको ढिपीका कारणले पनि सवारी दुर्घटना हुने गरेको छ । गन्तव्यसम्म पुग्न चालकलाई दबाब दिने, छिटो हाँक्न लगाउनेलगायतका व्यवहारले पनि दुर्घटनालाई निम्त्याएको अनुसन्धानले देखाएको छ । सवारी साधनको समयमानै मर्मत नहुनु, यात्रा थालनीपूर्व साधनलाई प्राविधिक रुपमा तयारी अवस्थामा नराखेकाले पनि दुर्घटना हुने गरेको पाइन्छ ।
यस्तै, सडक विभागले गरेको अध्ययन अनुसार सवारी सधानको तीव्र गतिलाई दुर्घटनाको मुख्य कारण मानेको छ । सडक निर्माण गर्दा निश्चित मापदण्ड निर्धारण गरिएको हुन्छ । जबकी चालकले सो मापदण्ड तोडेर सवारी साधन चलाउँदा पनि दुर्घटना हुने गरेको छ । साथै, सडकको मर्मत समयमा हुने गरेको छैन ।
त्यसैले सडक दुर्घटनाका प्रमुख कारकहरुमध्ये साँघुरो सडक, सवारी साधनको अवस्था ठीक नहुनु, चालकको लापरवाही, साथै सवारी साधनमा यात्रा गर्ने यात्रु पनि हुन् भन्छु ।
(अनुषा पत्रकारिता विषयमा अध्ययनरत् छिन् ।)