नेकपा एमालेको १० औंं महाधिवेशन चितवनमा भव्य र सभ्यरुपमा सम्पन्न भएको छ । इतिहासमै लाखौं लाख पार्टी कार्यकर्ता र जनताको उपस्थितिमा नारायणी नदीको किनारमा भएको उद्घाटन कार्यक्रमले सम्भवतः प्रतिक्रियावादी र दक्षिणपन्थीहरुको होस उडाइदिएको छ । न्यूटनको चाल सम्बन्धी तेस्रो नियमझैं चौतर्फी घेराबन्दीका बीच पार्टीमा झन् झन् शक्तिशाली भएर आएको छ ।
जनताले नेकपा एमालेलाई अझ बढी माया गरेको देखिन्छ । श्रद्धेय पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पार्टी अझ जनप्रिय बनेर आएको छ । पार्टीलाई जनताले अपार माया र सहानुभूति गरेका छन् भने पार्टीमा युवा तथा कार्यकर्ता को नयाँ नयाँ मुना र अनुहार देखिने क्रम तीब्रताका साथ अघि बढिरहेको छ । पार्टीमा विचारको खरानी घसेर खोंचे थाप्नेहरु, व्यक्तिगत महत्वाकाङ्क्षा राखेर पार्टी सङ्गठनलाई बन्दी र भ्याकुममा पार्नेहरु तथाकथित विचारको जामा पहिरिनेहरुबाट अब पार्टी साफ सूत्र भएको छ । ऐंजेरुहरु फालिएका छन् । पार्टी र नेतृत्वलाई यो वा त्यो बहानामा बारम्बार अफ्ठ्यारो पार्नेहरु आ–आफ्नो बाटो लागेका छन् ।
पार्टी एक ढिक्का भएको छ । पार्टी र कार्यकर्ता १० औं विधान महाधिवेशनको विचार हतियारबाट अघि बढ्दै अब चितवनको महाधिवेशनबाट श्रद्धेय अध्यक्षको नेतृत्वमा तमाम नेता–कार्यकर्ता पङ्क्तीहरु एकाग्ररुपमा युद्ध मैदानमा जान लागेका सैनिकझैं फोर्टिफिकेसन बसेका छन् । सानातिना कुराबाट फाटेका मनहरु अब जोडिनुपर्छ । कहिँकतै छिर्केमिर्के मनहरु सूर्यझैं लाल हुनु पर्दछ । हाम्रो मुख्य उद्देश्य समृद्ध नेपाल, सुखी नेपाल हो । देश र जनतालाई अबको केही दशकमा नै धनी बनाउनु हो ।
नेकपा एमालेले माक्सवादलाई जडसुत्रवादका रुपमा होइन, आफ्नै मौलिकतामा अभ्यास र प्रयोग गर्दै आएको छ । जनताको बहुदलीय जनवादलाई शिरोधार्य गर्दै २१ औं शताब्दीमा पार्टीको मार्ग दर्शन सिद्धान्तलाई व्यवहारिक र नेपालको माटो सुहाउँदो कम्युनिष्ट विचारधाराको हो भन्ने प्रमाणित भइसकेको छ । माक्सवादलाई आफ्नै सिर्जनात्मक प्रयोगद्वारा बहुसंख्यक जनताः मुख्यगरी मजदुर, किसान, गरिब, सुकुम्बासी, महिला, जनजाति तथा गरिखाने वर्गहरुको अधिकार र न्यायको लागि लडिरहेको यो पार्टीलेः रसिया, चीन भियतनाम र उत्तर कोरियाको नक्कल गरेर २१ औं शताब्दीमा कम्युनिष्ट आन्दोलन अगाडि बढाउन सक्दैन भन्ने मान्यता राख्दछ । पुँजीवादले नयाँ नयाँ रुप धारण गरेर आइरहेको यो विश्व भूमण्डली युगमा नेकपा एमालेसामु कम्युनिष्ट आन्दोलनलाई बचाइ राख्नुपर्ने ठूलो चुनौति विद्यमान रहेको छ । एकातिर देशभित्रका घेराबन्दी र र अर्कातिर विदेशी हस्तक्षेप अनि पार्टीभित्रको आन्तरिक कलहबीच पनि अहिले एमाले नेपालको कम्युनिष्ट पार्टी मूल धारको पार्टी हो भने देशकै ठूलो पार्टी पनि हो ।
एमाले पार्टी नेकपाको निरन्तरता पनि हो । अहिले कम्युनिष्ट ध्रुवीकरण तीब्ररुपमा अघि बढिरहेको छ । अन्य पार्टीका हजारौं कार्यकर्ता तथा जनता पार्टीमा आबद्ध हुने क्रम दिनप्रतिदिन चलिरहेको छ । जनताले बुझेका छन् । आशा, विश्वास र भरोसा गरेका छन् । अब यो देशलाई गरिबी, बेरोजगारी र सबै प्रकारका समस्याबाट मुक्ति दिलाउन सक्छ भने त्यो पार्टी भनेको नेकपा एमाले मात्र हो । राष्ट्रियताको सवालमा सत्तिसालझै उभिने एक मात्र पार्टी भनेको नेकपा एमाले हो र त्यसको नेतृत्व केपी ओलीले गर्नुभएको छ ।
आफ्नै दलका नेताहरूको घेराबन्दी र सरकारविरुद्ध असहयोगसँग उनी डटेर लडे । र, ढले–ढले–ढले लाग्दालाग्दै पछिल्लो समय झन् शक्तिशाली बनेर उभिएका छन् । त्यो शक्ति राजनीतिक कौशलले बोकेका ओली सरकारको नेतृत्व गर्दा उनले केही ऐतिहासिक उपलब्धिसमेत हासिल गरेका छन् । त्यसले ओलीको राजनीतिक कदसमेत बढाएको छ । त्यसपछि धेरैले आँकलन गरे– ओलीको भविष्य अब भने सकियो । ओली ढाल्न धेरै लागे । तर, उनी हराएनन्, झन् शक्तिशाली भएर उदाए ।
अहिले पार्टी र नेतृत्व पंक्तिप्रति बफादार र इमान्दार नेता तथा कार्यकर्तामा विभिन्न खाले आरोप–प्रत्यारोप लगाएर दक्षिणपन्थी अवसरवादी हरुले भ्रम सिर्जना गर्न खोजिरहेका छन् । तथाकथित परमादेशबाट बनेको अहिलेको गठबन्धन मुख्य ध्येय भनेको जसरी हुन्छ चुनावसम्म, सरकारमा रहुन्जेल लुट मच्चाउने हो भन्ने कुरा उसका क्रियाकलापले प्रष्ट भइसकेको छ । अब पार्टीका कार्यकर्ताहरु एकाग्रता साथ पार्टी काममा लाग्न जरुरी छ । भावनात्मकरुपले साङ्गठनिकरुपले सबै तह तप्काका नेता कार्यकर्ता माहुरीझैं जोडिएर सङ्गठनमा खटिनु आवश्यक छ । व्यक्तिगत महत्वाकाङ्क्षा, पद, प्रतिष्ठा र जुँघाको लडाइँ त्यागेर चौंडा छाती बनाएर गइयो भने मात्र हामी लडाइँ जित्न सक्दछौं । विरोधीहरु यो चुनावमा एक भएर आउने तयारी गर्दैछन् । यो टुकडे ग्याङ्को गठबन्धनलाई धूलो चटाउन जरुरी छ । अब आम कार्यकर्ताहरु अर्जुनको तिरझैं बन्नुपर्दछ । श्रद्धेय पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वलाई विजयको लालझण्डा सूर्य चिन्हलाई फहरयाएर मात्र विश्राम लिनेछौं ।
