तिब्बतीयन बौद्ध धर्म अनुसार चार टिचिङ निङ्गमा, गेलुक्पा, कग्युपा, सक्यापामा चढाउने केही बिशेष खालको कपडाको रूपमा खादाको शुरुवात भएको हो भनिन्छ। यो सिल्क मलमल कपडाबाट बनेको पहेलो, सेतो र बिभिन्न रङ्गमा बौद्ध मन्त्रसहितको छापेको कपडाको उपहार हो ।
खासगरी मान्छे जन्मिएर शुद्ध चोखाई सकेपछि बिहे, ब्रतबन्ध, छेवार, पास्नी, बिदाइ, स्वागत र कहिँ कतै मृत्युपछिको सम्मानमा प्रयोग हुने यो खादा पछिल्लो समय भने बिभिन्न राजनीतिक पार्टीका नेताहरूको सम्मानमा, सामाजिक संघसस्थाका प्रतिनिधिहरूको सम्मानमा, सफलतामा बधाई दिदै गर्दा बढी प्रयोग हुँदै आएको छ ।
यो प्रयोगले फूलको मालालाई लगभग विस्थापित गर्दैछ। सजिलै पाइने, जहाँ पनि पाइने र कम मूल्यमा समेत पाइने अनि मालाको सट्टा सम्मानमा प्रयोग हुनसक्ने अवस्था आएपछि ‘खादा’को प्रयोग बढ्दै गएको छ ।
बौद्ध धर्मालम्बीहरूले खास प्रयोजनमा प्रयोग गर्ने खादा, अहिले निकै परिमार्जित भै सकेको छ। अब त मफलर जस्तो देखिने र अझै ढाकाको कपडा या ढाका जस्तै देखिने कपडा पनि ‘खादा’कै नाममा अझै बढी चलनचल्तीमा छ।
पछिल्लो समयमा आएर केही व्यक्ति वा संघसंस्थाहरूले ढाकाको कपडालाई खादाको रूपमा औपचारिक कार्यक्रमहरूमा केवल सजावाट तथा फेसनको रूपमा प्रयोग गर्न थालिएको छ ।
सामान्य ढाकाको कपडा न त त्यसमा अष्टमङ्गलम अंकित छ न त खादाको रङ अनि अन्य खादामा हुनुपर्ने गुणहरू अनि परम्परागत महत्व नै ।
यसले खादा जस्तो पवित्र वस्तुको महत्त्वलाई अपहेलना तथा वेवास्ता गरेको धर्म गुरू तथा जानकारहरू बताउँछन् ।
अतः पबित्र कामको सुरूवात गर्दै हुनुहन्छ भने पबित्र आत्माले पबित्र खादाको प्रयोग गर्नुपर्ने भनिन्छ पनि।
नेपाल सरकारले नेपाल हस्तकला महासंघलाई भिजिट नेपालको लोगो सहितको करिब ६ हजारभन्दा बढी खादा बनाउन अर्डर दिएको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आफ्नो मातहतका कुनै पनि कार्यालयमा विदेशी खादाको प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो ।
विदेशबाट आयात हुने खादाको प्रयोगले वातावरण प्रदुषित हुने र अनावश्यक वस्तुमा राज्यकोषबाट बाषिर्क करोडौँ रुपैँया बाहिरिने भन्दै मन्त्रालयले त्यस्तो निर्देशन जारी गरेको थियो ।
कहिँ कतै खादा नलगाउने कुरा गरिन्छ त कतै निर्णय गरिन्छ अनि यसलाई फेरी धर्मसँग जोडेर उचालिन्छ पनि । तर यो ‘खादा’ सम्बन्धमा केहिँ सोच हुन जरुरी चाहीँ छ।
१. विदेशबाट आयात हुने खादाको प्रयोगले राज्यकोषबाट वार्षिक करोडौं रुपैँया रकम बाहिरिने अवस्था छ।
खासै प्रयोजन नभएको वस्तुको आयात परिमाण बढ्दै गएको छ।
हुन त फूलको माला पनि आयात नै हुने अवस्थामा उस्तै त हो नि भन्ने विचार पनि आउँछन् ।
प्रयोग र आयात बढ्दै गएको भए पनि आयात र खपतको वास्तविक तथ्याङ्क सरकार या अन्य कुनै निकायसँग छैन।
बस हामी यत्र तत्र सर्वत्र खादा वा ‘खादा’ स्वरुपी कपडाचाहीँ देख्छौँ ।
२. बढ्दो प्रयोगसँगै ‘खादा’ प्लास्टिक तथा पुनःप्रयोग गर्न नमिल्ने, नडढ्ने र नसड्ने कच्चा पदार्थ प्रयोग गरि बनाईदैछ यसको प्रयोगले वातावरणलाई झन् प्रदुषित बनाउने तर्क समेत गरिन्छ।
कार्यक्रम सकिएपछि खादा घरमा त्यति काम नलाग्ने हुँदा कतिपयले खादा त्यही कार्यक्रममै छोडेर जान्छन् । कतिले बाहिरतिर कतै फ्याकिदिन्छन् । यसले प्रदुषणमा बढ्ने देखिन्छ।
३. कार्यक्रमहरूमा खादा सीमित ल्याइएको हुन्छ अनि केही व्यक्तिहरूलाई मात्रै लगाइन्छ । लगाउने गजक्क ठूलो मान्छे झैँ बसेको देख्दा ‘खादा’बिनाका अनुहारहरू कहिलेकाहीँ ठुस्स परेर बसेको त कतिपय स्थानमा लुसुक्क हिडिहालेको पनि देखिन्छ।
के गर्नु पर्छ होला ?
१. ‘खादा’ प्रयोग गर्ने परेमा प्रमुख अतिथीलाई मात्रै गर्दा अन्य अतिथी पनि नछुट्ने र नचिढिने हुदाँ स्वागत सम्मान नै गर्नु पर्ने अतिथीलाई मात्रै लगाइदिदा व्यवस्थापन सहज हुने ।
२. धार्मिक प्रयोजनको लागि प्रयोग हुने खादा सम्बन्धमा तर्क वितर्क गर्दा विवाद सिर्जना हुने र खादा बहिष्कार जस्ता निर्णयहरू कति ठाउँमा हुदाँ अप्ठ्यारो परेको देखिन्छ। यसर्थ आयोजकहरू नै व्यवस्थित र मर्यादित हुनुपर्ने ।
३. ‘खादा’ मृत व्यक्तिलाई चढाइएको बाहेक, पुनः प्रयोग गर्न पाइने हुन्छ। यसर्थ लगाइएको खादा सङ्कलन गरी विभिन्न कार्यक्रममा पुनः प्रयोग ल्याउने व्यवस्था गर्नु पर्छ। यसरी पुनः प्रयोगले फजुल खर्चमा कमी हुन्छ भने प्रदुषण पनि कम हुन्छ।
खादा प्रयोग गर्नै परे प्लाष्टिकबाट बनेका र नसड्ने खादाहरू प्रयोग नगरौं, प्रयोग आवश्यक र मर्यादित हिसाबले गरौँ। प्रयोग गरिसकेपछि जथाभाबी नफालौं ।
हामीले चाहदैमा ‘खादा’को प्रयोग रोकिने वा कम हुने देखिदैन तर मर्यादित बनाऔ । साथै पुनः प्रयोग हुनसक्ने हुदाँ सम्हालेर राखौं अनि संघ संस्थाहरूलाई दिउँ ।
सभा समारोह सकिदा साथ सम्मानपूर्वक त्यहि छोड्दा पनि हुन्छ। मैले त धेरै पटक आफ्नोमा जम्मा भएका ‘खादा’हरू पुन प्रयोगका लागि दान गर्ने गरेको छु ।
सानो प्रयासबाट अनावश्यक आयात, फजुल खर्जी र वातावरण प्रदुषणमा केही कमी ल्याउन अनि मर्यादित प्रयोगमा सबैको पहलको अपेक्षा ।