Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अरुका लागि खुशी खोज्ने हामी

हाम्रो कोशी आवाज
माघ २८ २०७८, शुक्रबार
अरुका लागि खुशी खोज्ने हामी

जीवन जिउने मान्छे जीवनको यात्री हो । यात्रीको यात्रामा जीवनबोध राम्रैसँग हुन्छ । जीवन अनुभूत गर्ने कला मान्छेको स्वभावअनुसार भिन्नै हुन्छ । जीवनकालका कतियय कुइनेटाहरुमा पुग्दा यात्रीको भेट प्रकृतिले उपहारको रुपमा यस धर्तीमा दिएका अनेक सजीव÷निर्जीवसँग हुन्छ । कतिसँग गहिरो आत्मीयता रहन्छ । कोही बिर्सिनलायक हुन्छन् । आत्मीय लाग्नेहरुले जीवनमा खुसी भित्र्याउँछन् । यिनले ऊर्जा बनेर पाइलाहरुमा सहजता थप्छन् । जीवनयापनमा खुसी अनिवार्य छ । खुसीविनाको जीवन फिक्का बनेर ओइलाउँछ ।
समयक्रमअनुरुप ऋतुहरु चक्रीय लयमा फन्को मारिरहँदा हामीमाझ यिनले छाड्ने यादहरु फरक–फरक नै हुन्छन् । सबै प्रिय लाग्दैनन् । प्रिय नलाग्नेसँग मान्छे जोडिन चाहँदैन । यादहरुलाई सम्झनाबाट धुमिल्याउँछ । बिर्सिन खोज्छ । टाढा भाग्छ । यथार्थता यही हो ।विश्व खुसी प्रतिवेदन २०१७ ले एउटा रोचक कुरा सार्वजनिक ग¥यो । यसमा नेपालीहरु पहिले वर्षको तुलनामा बढी खुसी भएको देखिएको छ । नेपालीको ओठमा मुस्कान भेटिनु, हामी सबै खुसी छौँ भन्ने सूचक हो । प्राकृतिक विपत्तिको पीडाले पनि हाम्रो खुसीलाई चुँडेर लानसकेको छैन । नेपाली धैर्यवान् हुनुको गतिलो उदाहरण हो योे । छिमेकी मुलुक भारतभन्दा बढी खुसी नेपाली रहेको प्रतिवेदनले आंैल्याएको छ । चीन भने हामीभन्दा बढी खुसी छ । हामी खुसी हुने÷रहने यो चरण अझ बढ्नुपर्छ । हामीले गर्ने हरेक काममा खुसीको वहार चल्नुपर्छ । नेपाली मात्र हैन विश्व नै खुसी बन्नुपर्छ ।
प्रसिद्ध खगोलविद् तथा दार्शनिक ओमर ख्यायामलाई मान्ने हो भने उनी यो क्षणमा खुसी हुनुपर्छ यो नै आफ्नो जीवन रहेको मत राख्छन् । यसरी पलपलका क्षणहरुमा खुसी हुने हो भने सुन्दर भविष्य खोज्न भौँतारिनुपर्दैन । खुसी तुल्याउने कुरा एकै हुनसक्दैन । यो व्यक्तिको रुचिले निर्धारण गर्छ । सफलता, याद, मिल्ने मान्छे, घुमफिर, लेखन, भेटघाट, कुनै चिजको संग्रह यस्तै आदि आदि खुसीका सारथि हुन् । खुसीका लागी मान्छे बहाना खोज्छ, जबसम्म त्यो प्राप्त हुँदैन, कुनै अंशमा पनि मान्छे मुस्कुराउन सक्दैन । मान्छे सबै अर्थमा खुसीको हिस्सा बढी खोजिरहेको हुन्छ । जो घटबढ भइरहने यी पाटोहरुलाई सहज लिन सक्दैन, ऊ अप्रिय बाटो रोज्छ । उसले संसारमा आफ्नो अस्तित्वलाई भौतिक, मानसिक रुपमा राख्न सक्दैन ।
समाचारमा दिनानुदिन आत्महत्याका खबरले हाम्रो ज्यान सिरिङ्ग हुन्छ तर यही सुनेर ज्यान सिरिङ्ग बनाउनेहरुले पनि यही बाटो रोजिरहेका नै हुन्छन् । निष्कर्ष यो हुन सक्छ, बदलिँदो परिस्थितिले देखाउने बाटो अमूल्य हुन्छ ।सकारात्मक र नकारात्मक सोचहरुले भरिएको चेतमा सन्तुलनको गुञ्जायस नभेटिँदा खुसी पाउन सकिँदैन । हेर्ने दृष्टिकोणले खुसी हुनुमा र नहुनुमा महत्व राख्छ । चर्चित गीत ‘फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार’ यथार्थतामा घुलेर दुर्गालाल श्रेष्ठले लेखेका थिए । मान्छेहरु अहिले यसबाट धेरै प्रेरणा लिइरहेका छन् । बिर्सिन खोज्दा, यादहरुलाई धुमिल्याउन खोज्दा र टाढा भाग्दा पनि सबै कुरा अमिट हुनै सक्दैनन् । अमिटमा विचित्र शब्दभाव छ । एकपटक ‘डिलिट’ गरेको चिज त ‘रिकभर’ हुन्छ भने बेला–बेलामा ‘रिकभर’ भइदिने यादहरु काँडासरी घोच्न आइपुग्छन् । प्रिय नलाग्ने विगत मान्छे मस्तिष्कबाट विलीन होस् भन्ने चाहन्छ । रद्दीको टोकरीमा नफर्किने गरी मिल्काउन खोज्छ । सहज छैन । नराम्रोसँग गडेका काँडाहरुले बिझाइरहन्छन् । समय–समयमा पोल्छन् ।
सूर्योदयको पहिलो प्रहरमा, निष्पट्ट र अटल बनेर बसिरहने तालमा, अनवरत बगिरहने नदीमा, प्रकृतिको अलौकिक काखमा, वर्षातको भेलमा, सिमसिमे पानीमा, कुहिरोले ढाकेको टाकुरामा, सर्सर बतासले हुत्याउन खोज्ने डाँडोमा, वर्षौँदेखि हिउँलाई थेगेर हाँसिरहेको हिमालमा मान्छेको स्वभाव विविधतामा झल्किन्छ । मान्छे खुसी भावमा ‘वोउ’ ! भनेर आश्चर्य प्रकट गर्छ । केही समयपछि यी सबै सामान्य लाग्छन् । नयाँ तृष्णाले मान्छे भरिन्छ । यस्ता अनेक आयाममा मान्छे उस्तै छ ।
तमाम चाहनाहरुलाई एकैपटक हुत्ताएर पर सार्न पनि त तयार छैन मान्छे । आवश्यकताहरुले मान्छेलाई गर्ने प्रेम पनि बडो अचम्मको छ । यी क्षणिक भइदिएको भए मान्छे कति खुसीले यो केही वर्षको जिन्दगी जिउँथ्यो होला । सोचेजस्तो र भनेजस्तो त यहाँ कसलाई नै भएको छ र ! फेरि अर्को कुरा खुसीको मात्रै स्पर्श भइदिए जीवनको साझा परिभाषा पनि त संकटमा पथ्र्यो । मान्छे प्रगतिको पथमा यसरी उभ्भिन सम्भव नै थिएन । खुसी भेटेर भेटिने चिज होइन यो त अनुभूत गर्ने कुरा हो । जहाँ मन खोलेर अनुभूतिको रसपान गर्न सकिँदैन, त्यहाँ दुःख, लालसाले मात्रै घेरिरहेको हुन्छ । मान्छेले मान्ने गरेको कैयौं जुनीमा पनि खुसी फर्केर आउने कुरामा सहमत हुनै सकिँदैन ।
मान्छे दिनप्रतिदिन महत्वाकांक्षी बन्दै छ । खुसी खोज्दा–खोज्दै बेखुसी बनिरहेको छ । ऊ ठूला—ठूला सपनाहरुले बाँधिएको छ । पृथ्वीमा भएको भुलेर अर्कै संसारमा पुगेको ठान्नु कल्पना शिवाय केही हँुदैन । कल्पना भन्ने कुरा नराम्रो हुँदै होइन । असीमित कल्पनाको डुबाइले मान्छे पौडिन नसक्ने गरी भासिनसक्छ । यो विचारणीय छ । हुनुमा, भएको र हुनेमा जिन्दगीलाई खुसीसाथ डो¥याउनुपर्छ । सधैँ मान्छे खुसी हुनै सक्दैन । यो अकाट्य नै छ तैपनि खुसीका लागि प्रयत्नहरु ठीक ढङ्गले रहनुपर्छ ।
अरुका लागि खुसी खोज्ने हामी आफ्नो लागि भने कहिल्यै गहिरिएर खुसी खोजिरहेका हुँदैनौँ । आफू खुसी नभई अरुलाई दिने खुसीमा वास्तविक खुसी भेटाउनै सकिन्न ।

प्रकाशित मिति: माघ २८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend