अबको विकल्पः सार्वजनिक शौचालय र फोहोर संकलन केन्द्र
धरानः धरान आउने सडकमा यात्रुले जथाभावी मिल्काइएका फोहोर धरानबासीले टिपेका छन् । धरानको निशाने केही परदेखि सर्दु जलाधार र भेडेटारसम्मको ३ तीन टिपर प्लाष्टिकजन्य वस्तु टिपेका हुन् ।
पानीको बोतल, चाउचाउको खोल, फ्रुटीको खोल, बियरको बोतल लगायत प्लाष्टिकजन्य वस्तु तीन टिपर संकलन गरेको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले जानकारी दिए । पर्यटकीय क्षेत्र र सर्दु जलाधार क्षेत्रभित्र पर्ने धरान–धनकुटे सडकमा यात्रुहरूले जथाभावी फालेका प्लाष्टिकका बोतल र झोलाहरुले नाला, जंगल ढाकिन लागेको हुनाले लोकमार्गअन्तर्गत भेडेटारसम्म रहेको लोकमार्गको प्लाष्टिकजन्य वस्तु र अन्य फोहोरमैला टिपिएको उनले जानकारी दिए ।
झण्डै तीन सय जना बढीको सहभागितामा भएको सफाई कार्यक्रममा निशानेदेखि फोहोर टिप्दै हिँड्दै भेडेटार बजारसम्म सफाइ भएको थियो । त्यहाँसम्म सबैजना फोहोर टिप्दै हिँडेरै पुगेका थिए ।
धरान उपमहानगरपालिकाको रोक
यसअघि धरान उपमहानगरपालिकाले धरानको जलाधार क्षेत्रमा पर्ने धरान–भेडेटार सडक खण्डमा सवारी रोकेर दिशापिसाब गर्न रोक लगाएको थियो तर पनि त्यो रोकिएको भने पाइएको छैन । सवारी रोकेर पनि दिशापिसाब भइरहेको पाइयो । त्यहाँ सवारी साधनमा यात्रुले वान्ता गरेको फोहोर, प्लाष्टिकका बोतल, चाउचाउका खोललगायत प्लाष्टिकजन्य र शिशाजन्य फोहोर सडकमुनि यत्रतत्र छरिएको पाइएको छ ।
धरान उपमहानगरपालिकाले दिशापिसाब लागेमा शिवधारामा रहेको शौचालय र भेडेटारमा रहेको शौचालय प्रयोग गरिदिन आग्रह समेत गर्दै आएको थियो तर त्यसलाई बेवास्ता गर्दै यात्रुहरूले सर्दु जलाधार क्षेत्रमा पर्ने पानीको मुहान क्षेत्रको आसपास पर्ने सो सडकमा अहिले पनि फोहोर फाल्दै आएका छन् ।
उपमहानगरले धरानको शिवधारादेखि भेडेटारसम्म कुनै पनि सवारी रोक्न नपाइने र रोकेको पाइएमा एक लाख रुपैयाँसम्म जरिवाना साथै अन्य कानुनी प्रक्रिया अपनाइने बताएर नगर प्रहरी नै राखेपनि पूर्ण रुपमा कार्यान्वयन आउन सकेको छैन ।
सर्दु जलाधार क्षेत्र फोहोर र दुषित भएको भन्दै गुनासो बढिरहेको नै छ । अहिले पनि धरानबासीले खर्दुखोला र निशाने खोलाको पानी खाइरहेका छन् । यसअघि पानीमा दिशामा पाइने जीवाणु फेला परेको तथ्यले समेत देखाइसकेको छ ।
धरान–भेडेटार सडक खण्डअन्तर्गत पर्ने धरान–४ को आँगगाछी क्षेत्र र भेडेटार केही तल छोटी मोरङ छेऊ र केही तलसमेत सवारी रोकेर झाडीमा यात्रुलाई दिशापिसाब गराइने गराइन्थ्यो । त्यहाँ नगर प्रहरी पोष्ट खडा भएको छ । तर आँपगाछी केही माथि र छोटी मोरङको बीचमा पर्ने जंगलमा सवारी साधन रोकेर अहिले पनि दिशापिसाब गराउने गरिएको पाइएको छ ।
धरान उपमहानगरपालिकामा साम्पाङ निर्वाचित भएर आएपछि आँपगाछी क्षेत्रमा प्रहरीको चेकपोष्ट समेत राखेर निगरानी गरिँदै आएको छ । आँपगाछी क्षेत्रमा कडाइ गर्नाले त्यहाँ दिशापिसाब गर्न रोकिएको छ । निशाने खोला, खोला छेऊ र आँपगाछीका केही भागमा पर्ने एरियामा तारघेरा समेत गरिएको कारण त्यहाँ दिशापिसाब पूर्णरोकमा रोकिएको छ ।
अबको विकल्पः सार्वजनिक शौचालय र फोहोर संकलन केन्द्र
सो क्षेत्रमा धरानेले सधैं फोहोर टिपेर साध्य छैन । अभियन्ता तथा स्वतन्त्र नागरिक समाजका अध्यक्ष समेत रहेका समीर तामाङ भेडेटारसम्मको फोहोर संकलनको लागि ‘आइडिया’ लगाउने बताए । उनले धरान उपमहानगरपालिकालाई फोहोर राख्नका लागि सानो घरजस्तो टहरा निर्माण गरेर त्यहाँको फोहोर संकलन केन्द्रबाट फोहोर संकलन गर्न सकिने सुझाएको बताए । ‘ठाउँ ठाउँ सानो घरजस्तो टहरा बनाइदियो भने त्यहाँ फोहोर संकलन हुन्छ र सो फोहोर धरान उपमहानगरपालिकाको सवारीले टिपेर ल्याउने किसिमको वातावरण बनाउनुपर्छ भनिसकेको छु ।’
उनले सो क्षेत्रमा सार्वजनिक शौचालयको समेत निर्माण गरिदिए यात्रुलाई सहज हुने बताए । ‘अहिले जथाभावी दिशापिसाब गरेको नै पाइयो’, उनले भने, ‘उपमहानगरपालिकाले सार्वजनिक शौचालय बनाइदिए जथाभावी शौचालय गर्ने क्रम रोकिने थियो ।’ तस्वीरहरूः हाम्रो कोशी आवाज






























