Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

व्यङ्ग्य कविताः प्रजातन्त्रको लहर

हाम्रो कोशी आवाज
असोज ५ २०७७, सोमबार
व्यङ्ग्य कविताः प्रजातन्त्रको लहर

प्रजातन्त्र ल्याउँछौं,
निरंकुशताको अन्त्य गरी छाड्छौं
भनी अग्लो ठाउँ चढेर
जोशिलो भाषण खुब छाँट्ने
मान्छे त मान्छे कुकुरलाई पनि
पत्यारै लाग्ने
तपाईं जनता देशका मालिक बन्ने
आउनुस्,
सबै मिली देशलाई स्वर्गाम्मे बनाएरै छाड्ने
घिउ भात खाने अनि रेशम कपास लाउने,
लौ त्यसैले हाँसी हाँसी तपाईं प्राण दिनुस्,
हामी तपाईंलाई सुन्दर शान्त नेपाल दिने
अन्याय, पीडा नामको बिरालो त
छेउमै पर्न न दिने
खुशीयाली नाऊ गरेकी चेली त
तपाईंसँगै घरजम गरी बस्ने
छोराछोरी उच्च शिक्षा पढ्ने,
अनि ठूला ठूला अफिसर बन्ने,
कोही हाकिम
कोही सरकारी जागिर खाने,
यस्तै चट्ट रसिला र स्वादिला
सपना देख्नु भाको र देखाइएको थियो हैन र
प्रजातन्त्रको नाममा
कस्तो पो होला प्रजातन्त्र भनेको त ए बा
ए यस्तै पो हुँदो रै’छ प्रजातन्त्र भनेको त
खै दिनहुँ तैं छाड र मै खाऊँ
नत्र भागबन्डा लाएर भए पनि खाऊँ,
तर जसरी भए पनि खाऊँ
झारेर हुन्छ कि मारेर हुन्छ,
सरकारमा एक पटक जाऊँ
त्यसपछि त हुन्छ सब आफ्नै दाऊ
भाइबहिनी, इष्टमित्र नातागोताले पार्नुपर्छ
कुर्सी जति सब भरिभराऊ
बल्ल तल्ल पारेको मौका,
सकेसम्म खाऊँ, डकार आएपछि पनि खाऊँ
देशको मोल भाऊ कहिले बाहिर त कहिले भित्रै गरेर आऊँ
यति छिटो देश विकास गरेर अहिले
आफ्नै सोह्रपुस्ते बन्दोबस्त चैं अनि गरी सक्नु कहिले
रुँदै गरोस् श्रीमती छोरा छोरी जोसुकै शहीदका भोकैले,
पिल्सिराखोस् जनता निमुखा देशका अभावैले,
विदेशिनु परोस् जति नै
दिदीबहिनी दाजुभाइहरूलाई पठाएर टाढा टाढा पेटैले,
असुल्नुपर्ने छ सोझासाझा जनतासित
कर बाक्लै दरले,
मबाट दह्रो केही होला भन्ने भर भने पटक्कै न पर
जसरी भए नि अटाइ न अटाइ भुँडी मेरो टन्नै गर,
पहिला एउटा भर्नुपर्ने अब थुप्रै इनार भर
बुझी राखौं है, सोझासाझा जनताका लागि
घर घर चलेको यही नै हो प्रजातन्त्र को सुहाउँदो,
स्वादको लहर
होइन र ?
-todiindu@gmail.com

प्रकाशित मिति: असोज ५ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend