शैक्षिक प्रमाणपत्र बोकेर गल्ली–गल्ली चहार्दा उनी थाकिसकेका छन् । गाउँमा कमाइ नहुँदा चुलो बल्न छोडेपछि झोलामा प्रमाणपत्र बोकेर पदमराज रेग्मी जागिर खोज्न शहर छिरे । २०६१ सालमा एसएलसी गरेका उनले पढाइ सकेको ५ वर्ष भइसक्यो । बीबीएससम्मको पढाइ गरेका उनी हालसम्म बेरोजगार छन् । आर्थिक अवभावका कारण जागिर खोजेर अधूरो पढाइ पूरा गर्ने धोको सपनाजस्तै भएको उनी बताउँछन् । गाउँमा निजी स्तरका बोर्डिङको शिक्षण पेशाले घरखर्च धानेन । उल्टै कर्जा थुप्रिरह्यो । त्यसपछि सर्टिफिकेट बोकेर शहर छिरे राम्रो अवसर खोज्न ।
शहरका गल्ली–गल्ली चहार्दा जागिर नभेटेपछि उनी निराश बनेका छन् । ‘स्वदेशमै केही गर्नुपर्छ भनेर विदेश गइएन, अब त जागिर पाउने आशासमेत मरिसक्यो ।’ उनले भने । जागिर नपाएको चिन्ताभन्दा आपूmले प्राप्त गरेको शैक्षिक योग्यताले बढी पिरोल्ने गरेको उनी बताउँछन् । ‘म नपढेको भए यति टेन्सन हुन्थेन । स–सानो काम गरेर भए पनि जीवन चलाउन सक्थें । बेरोजगारको बजारमा शिक्षित भएर बढी पीडित भएँ ।’ उनले गुनासो गरे ।
नेपालमा वर्षेनी लाखौं विद्यार्थी एसएलसीदेखि उच्च शिक्षाको पढाइ सक्ने गरेको सरकारी आँकडा छ । उनीहरूमध्ये केहीले अपेक्षाअनुरूपको काम पाउँछन् । बाँकी सबै बेरोजगारी बजारका हिस्सा बन्न थाल्छन् । उच्च शिक्षा हासिल गरेका उनीहरुले न त बाबुबाजेको बिँडो सम्हाल्न गाउँ फर्कने आँट गर्न सकेका छन्, न अवसर नै पाउँछन् । पढेलेखेको केटो जागिर पाउँला भन्ने विश्वास गरेका हुन्छन्, देशको बेरोजगारीले उल्टै पिरोल्ने गरेको उनीहरु बताउँछन् ।
‘हाम्रो शिक्षा पद्धति नै यस्तै छ । प्रमाणपत्र तह, स्नातक, स्नातकोत्तर उत्तीर्ण गर्दा पनि व्यावसायिक सीप सिकिँदैन । हातमा प्रमाण पत्र छ तर सीप छैन’, सप्तरीका सरोज पोखरलले भने, ‘जति पढ्यो, त्यति बेरोजगारी हुँदै गइयो ।’ सरोजले एमबीएस गरेका छन् । ‘पढ्दा लागेको खर्च उकास्छु भन्ने सोचेथेँ, पढाइसकेपछि जागिर नपाउँदा झन् पीडा भएको छ ।’ उनले भने । उनी दुई वर्षदेखि अधिकृतको तयारी कक्षा लिइरहेका छन् । जता विज्ञापन खुल्यो, त्यतै आवेदन भर्छन् । अहिलेसम्म चित्तबुझ्दो जागिर पाउन सकेका छैनन् ।
उनी मात्र होइन, अहिले विभिन्न स्थानमा सञ्चालित करिअर तयारी कक्षामा ठूलो भीड देखिन्छ । जागिरको लागि योग्य बन्न एकेडेमिक पढाइले नपुगेपछि प्रतिस्पर्धी क्षमता बढाउन अतिरिक्त शिक्षा लिनुपरेको उनीहरु बताउँछन् । ‘हाम्रो शिक्षा नै बेरोजगार बनाउने छ । क्याम्पस, कलेज पढेर कहाँ जागिर पाइँदो रहेछ र ?’ दिनेशराज जोशीले भने, ‘कहिलेकाहीँ त बेरोजगार हुन पढिएजस्तो लाग्छ ।’
दिनेश पनि जागिरको खोजी गर्दै घर छोडेको एक वर्ष भइसक्यो । नेपालको शैक्षिक प्रणाली अनुत्पादक भएकोले शैक्षिक क्षेत्रमा बेरोजगारी बढेको बताउँछन् । ‘म मात्र होइन, हजारौं युवाहरू पढाइ सकेर बेरोजगार छन्’, उनले भने, ‘युवाहरू नेपालमा कुनै सीप नलागेपछि पढाइ सकेपछि विदेशिँदैछन् ।’
मल्लिका राई भन्छिन् ‘मैले धेरै खोजें, शिक्षक, खरिदारको तयारीसमेत गरे । केही सीप नलागेपछि त्यतिकै छु ।’ नेपालको शिक्षा प्रणाली व्याहारिक हुन नसक्दा शिक्षित जनशक्ति पनि बेरोजगार बनेको सरोकारवाला बताउँछन् । तेजराज भुजेल नेपालको शिक्षाले बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्न नसक्दा बेरोजगारी बढाएको बताउँछन् । ‘स्नातकोत्तर गरेकाहरु समेत सामान्य जागिर खोज्न यहाँ आउँछन् । बेरोजगारी समस्या विकराल छ । देशको शिक्षा पद्धति व्यावहारिक र व्यावसायिक हुन नसक्दा वर्षेनी बेरोजगारी दर बढ्दैछ ।’ उनले भने ।
‘पढेपछि जागिर खानुपर्छ भन्ने ज्ञान दिइयो तर स्वरोजगारको ज्ञान दिइएन, त्यसले गर्दा समस्या देखिएको हो ।’ उनले भने । उनले नेपालको बेरोजगारी समस्या तीन तरिकाले हल गर्न सकिने बताए । शिक्षा पद्धतिमा देखिएको प्रक्रिया बदल्नु, शिक्षा दिँदा उद्योगी–व्यापारीलाई कस्तो जनशक्ति चाहिन्छ त्यही किसिमको शिक्षा दिनु वा औद्योगिक शिक्षाको विकास गर्नु र वर्तमान शिक्षालाई अभिमुखीकरण गर्नु अहिलेको आवश्यकता भएको छ ।