धरानमा अहिले अधिकांशको मुखमा मास्क झुन्डिएकै पनि छ । अघिल्लो वर्षका कोरोना कहरको बेलाभन्दा यसवर्ष जनता धेरै सचेत छन् । अहिले कोरोनाको कहर बढ्दै गएको छ । २०७८ वैशाख दोस्रो सातादेखि कहालीलाग्दोरुपमा लामो निषेधाज्ञा (बन्दाबन्दी) गरिएको केही हप्तापछि पुनः निषेधाज्ञाको हल्ला चलिरहेको छ । हल्लामात्रै होइन सम्बन्धित निकायका प्रतिनिधिले समेत पुनः निषेधाज्ञा गर्नुपर्ने अवस्था आउनसक्छ भनिरहेका छन् । यसअघि निषेधाज्ञा गर्दै यति कठोर उपाय अपनाइए पनि कोभिड-१९ संक्रमणको साङ्लो भने अझै छिनेको छैन । यसका लागि जनता आफैं सचेत बन्नुको विकल्प छैन ।
निषेधाज्ञाले हामी सबैलाई सास्ती दिएकै हो । तर बाँच्नुको विकल्प छैन । धरानमा पनि सङ्क्रमित बढेका बढ्यै छन् । यसको प्रत्यक्ष असर समग्र धरानबासीमा परेको छ । अहिले धरानमा लकडाउन छ । त्यसैले सङ्क्रमित बढिरह“दा नै हामी किन सचेत नबन्ने ? अब संक्रमण रोकथामका लागि निषेधाज्ञाको विकल्प पनि सोंचौं । निषेधाज्ञा मात्रै कोरोना सङ्क्रमण रोकथामको विकल्प र उपचार होइन । यसका लागि सर्वसाधारणले होस् पुरयाउनैपर्छ । यसका लागि सरकार र जनता दुवैको सहकार्य महत्वपूर्ण भूमिका रहनेमा दुईमत छैन । जनता सचेत भइदिएनन्, स्वास्थ्य मापदण्ड पालना गरेनन् भने संक्रमण रोकथाम पक्कै सम्भव छैन । निषेधाज्ञाभन्दा पनि प्रभावकारी जनचेतना फैलाउनु आजको आवश्यकता हो । धरान उपमहानगरपालिकाले सचेतना अभियान र प्रचारप्रसारलाई पनि तीब्रता दिइरहेको छ ।
गत वर्ष र यस वर्ष सरकार–नागरिक दुवै लागेर नै कोरोना केही हदसम्म नियन्त्रणमा आएकै हो भन्ने बुझ्नु आवश्यक छ । धरानको मामिलामा हेर्ने हो भने सङ्क्रमित भएका पक्कै हो । सरकार अहिले कडारुपमा प्रस्तुत भएको छ । तर जति नै कडाइ गरिएपनि यदि जनता सचेत छैनन् भने रोकथाम सम्भव नहुन सक्छ । धेरै देश सङ्क्रमण मुक्त भइसकेका छन् तर हामी कहिल्यै संक्रमणमुक्त हुन सकेनौं । एकजनाबाट फैलिएको यो महामारीले जोसुकैलाई छाड्दैन, त्यसैले पटक्कै हेलचेक्र्याइ“ नगरौं । सामाजिक दुरी, मास्क, सेनिटाइजरमा ध्यान दिऔं, निषेधाज्ञा हुन नदिऔं । निषेधाज्ञा भएपछि फेरि उफ, निषेधाज्ञा भनेर नपछुताऔं ।
सङ्क्रमण रोक्न लादिएको निषेधाज्ञाका कारण गुमेको दैनिक अर्बौं रुपैयाँको अर्थतन्त्र बच्न सकेको छैन, लाखौं जनताको रोजीरोटी गुमेको छ, सरकारले खोप ल्याउन किन प्रभावकारी पहल गरेन ? नागरिकको प्रश्न हो यो । धरान उपमहानगरपालिकाले आफैं खोप किन्ने पनि भनेर लागिपरयो तर खोप अझै ल्याउन सकेको छैन । कारण– संघीय सरकारको अर्कमण्यता । भनौं कानुन नै छैन । तथापि यही रूपको निषेधाज्ञा सधैं लगाइरहन सम्भव थिएन, यसलाई खुकुल्याउनु अपरिहार्य थियो र खुकुल्याइएको पनि छ । ‘कन्ट्याक्ट ट्रेसिङ’ र परीक्षणको मात्रा व्यापक नबनाएर निषेधाज्ञालाई मात्रै हतियार बनाइएको सरकारले रोग प्रतिरोधक खोप ल्याउन पनि सार्थक पहल गरेको छैन भन्ने आम जनगुनासो बढ्दो छ । खोपलाई लिएर यो सरकारले पहिलो प्राथमिकतामै राखेको छ । सरकारले जति छिटो बढीभन्दा बढी नागरिकलाई खोप लगाउन सक्छ, त्यति नै महामारीको मारबाट बच्न सकिन्छ । यतातर्फ अबको सरकारको ध्यान बढी जानुपर्ने देखिन्छ । त्यसैले सरकारले आफ्ना नागरिकको जीवन बचाउन यथाशक्य खोपको प्रबन्ध मिलाउनैपर्छ ।