नेपाली राजनैतिक इतिहासमा परिर्वतनकारी पहिलो खुड्किलो विसं २००७ साललाई मानिन्छ । नेपालमा शासन गर्दै आएको १०४ वर्षको राणा शासनको अन्त्य भई पहिलो पटक प्रजातन्त्र आएको थियो । नेपालमा प्रजातन्त्रको स्थापनामा राजा त्रिभुवनले तत्कालीन राजनीतिक दललाई सहयोग गर्दै राजमुकुट नै छोडेर भारतमा गएका थिए ।
तत्कालीन नेपालका राजा त्रिभुवन भारत गएसँगै नेपाली राजनीतिक दलमा हौसला आयो । फलस्वरुप नेपालमा एकतन्त्रिय राणा शासनको अन्त्य भई ००७ सालमा प्रजातन्त्रको पनि सुरुवात हुन पुग्यो । भलै, नेपालमा प्रजातन्त्रको बहाली गर्न सहयोग पुर्याएका त्रिभुवनकै दरसन्तान रहेका राजा ज्ञानेन्द्रलाई २०६२ र ६३ मा १९ दिनसम्म चलेको जनआन्दोलनले हटाएको थियो ।
यससँगै नेपालको राजनीतिक ढाँचा र स्वरुप बदलिएर सङ्घीय गणतन्त्र नेपाल भएको छ । मुलुकमा गणतन्त्र घोषणा भएको १० वर्ष पुग्दा पनि प्रजातन्त्र दिवस मनाउन भने छाडिएको छैन । जनआन्दोलनको जगमा भएको निर्वाचनबाट गठित संविधान सभाको पहिलो बैठक २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय गणतन्त्र घोषणा गरिसकेको छ । तर, नेपाल सरकारले फागुन ७ गते लोकतन्त्र दिवस मनाउँदै आएको छ ।
यस अवसरमा आज ६७ औं प्रजातन्त्र दिवस नेपालभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ००७ सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरुप जहानिया राणा शासनको अन्त्य भई मुलुकमा प्रजातान्त्रिक व्यवस्था सुरु भएको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवस मनारउने गरिन्छ ।
गणतन्त्र नेपालमा प्रजातन्त्रको महत्व
२००७ सालमा प्रजातन्त्र आएको मुलुकमा लोकतन्त्र हुँदै सङ्घीय गणतन्त्र स्थापना भइसकेको छ । नेपालको राजनैतिक भौगोलिक संरचनादेखि संविधानसम्म गणतन्त्रको छाप परिसकेको छ । तर, प्रजातन्त्र दिवसको अस्थित्व भने कायम रहँदै आएको छ ।
परिर्वतन हुन नसकेको नेपाल
नेपालमा प्रजातन्त्र स्थापनका लागि गरिएको आन्दोलनदेखि गणतन्त्रसम्मको इतिहास हेर्ने हो भने प्रत्येक दश वर्षमा आन्दोलन हुँदै आएको छ । प्रजातन्त्रले नेपालमा एक युगान्तकारी परिर्वतनको बाटो बनाएको थियो । तर, बाटो धुमलिएर नेपालको विकासमा अनेक बाधा उत्पन्न हुन पुग्यो ।
यसैबीच संघीय गणतन्त्र नेपालमा प्रजातन्त्रले भिन्न प्रकारको महत्व राख्दै आएको छ । जुनसुकै राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धी हरुको रक्षा गर्नु सरकार र जनताको कर्तव्य हो । शासकले आफ्नो र आफ्नो वरिपरि रहेका आसेपासे , नातागोतालाई मात्र हेर्ने जनताको अवस्था नबुभ्mने प्रवृति र संस्कारले जनता असन्तुष्टि भइ परिवर्तनलाई साथ दिन्छन् । जनताले राणा शासनको अन्त्य गरि प्रजातन्त्र ल्याए । त्यसैगरि पञ्चायती व्यवस्थालाई फाली बहुदलीय व्यवस्था ल्याए । त्यो व्यवस्था ल्याउन कांग्रेस र कम्युनिष्ट मिलेर संयुक्त आन्दोलन गरे । त्यसपछि त्यो संयुक्त आन्दोलनको बलमा २०४६ चैत २६ गते प्रजातन्त्र पुनस्र्थापना भएको थियो । ०४६ सालमा ल्याएको बहुदलीय व्यवस्था पनि एक दशकपछि पूर्वराजा ज्ञानेन्द्रको हात बाट खोसियो । गुमेको प्रजातन्त्र लाई फर्काउन २०६२–२०६३ को संयुक्त जनआन्दोलन –२ गर्नुपरेको थियो । त्यही आन्दोलनको बलमा मुलुकलाइ यो अवस्थामा ल्याएको हो । अहिलेसम्मको प्राप्त उपलब्धी त्यसैको परिणाम हो । यसको रक्षा गर्नु हामी सबै नेपालीको साझा कर्तव्य र दायित्व दुवै हो ।
हरेक परिवर्तनको आ आफ्नै विशेषता हुन्छ । कतिपय देशमा प्रजातान्त्रिक शासन व्यवस्था राम्रो हुँदा ती देशहरु विकसित भएका प्रशस्त उदाहरण पनि छन् । नेपालमा भने प्रजातन्त्र नफापे जस्तो देखिन्छ । कारण के हो भने नेतृत्व वर्ग इमान्दारी र दुरदर्शी भएनन् । ०४६ वा ०६२ मा भएका आन्दोलनको बलमा प्रजातन्त्र पुनस्र्थापना, संविधान सभाले बनाएको संविधान, त्यसको कार्यान्वयनले समानुपातिक समावेशी शासन पद्धतिको जग बसाल्न र नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन २००७ फागुन ७ को ठूलो भूमिका रहेको छ ।