धरान उपमहानगरपालिकामा आउने पर्यटकलाई मायाको चिनोस्वरुप रुद्राक्षको माला साथै धरानको चित्रअङ्कित केही फोटो सामग्री दिइन्छ । अझै पनि यस्ता कुरालाई मात्रै जोड दिँदा अर्थात् मायाको चिनो बनाउँदा यहाँको मौलिकता झल्किने सामग्री दिन नसकेको वा झल्काउन नसकेको प्रष्ट हुन्छ । यहाँकै रैथाने उत्पादन अर्थात् सांस्कृतिक कुराहरुलाई कोसेलीका रुपका विकास गर्न सकिन्छ तर यस्ता सम्भावनालाई व्यवस्थित र प्राथमिकतामा नपार्दा अहिले धरानले आम्दानी गुमाइरहेको छ भन्न सकिन्छ ।
जुन ठाउँमा जे ले परिचय साट्छ त्यसको प्रतिबम्बस्वरुप त्यहाँकै कोसेली दिन सके त्यो पो हो त आप्mनोपन । अहिले पनि धरानले आफ्नै माटो सुहाउँदा कोसेली के हो भनेर छुट्याउन नसक्नु दुःखद् हो । धरान आउने पर्यटक धरानको सुन्दरता, धरानको सांस्कृतिक, सामाजिक, ऐतिहासिक, पुरातात्विक कुराहरू खोज्छ । अझ भन्ने हो भने धरान बहुजातीय, बहुधार्मिक, बहुभाषिक सहर हो भन्ने सबैमा छ । यस कुरालाई पनि स्थानीय सरकारले जोड दिन सके बेस हुने थियो । पर्यटन भनेको केवल धरानको अवलोकन मात्रै होइन यो त स्थानीय, संस्कृति, जीवनशैली, कला र उत्पादनसँगको भावनात्मक सम्बन्ध पनि राख्ने हुँदा यसतर्फ जोड दिन किन ढिलाइ गर्ने ?
साँच्चै भन्ने हो भने धरान सहरले पर्यटकलाई आफ्नो मौलिकता दिन र बेच्न सकेको छैन । धरान आउने पर्यटकले यहाँको खास कोसेली नभेट्दा मख्ख हुन सकिरहेका छैनन् । यो विषयले अहिले गम्भीर प्रश्न समेत उठाएको छ । धरानले कहिल्यै धरानको कोसेलीको रुपमा ब्रान्डिङ गर्ने सोंच र विचार नै ल्याउन सकेन । आकर्षक प्याकेजिङ र पर्यटक खुशी पार्न सकेको छैन । धरानमा कोसेली घर बनाएर कोसेलीको विकास गर्नु अहिलेको अपरिहार्य आवश्यकता हो । अझ भन्ने हो भने अहिले धरानमा जहाँ जति पनि पार्कहरू निर्माण भएका छन्, त्यहाँ हजारौं पर्यटक आउन थालेका छन् । तिनीहरुलाई मात्रै केही कोसेली दिएर पठाउने हो भने पनि धरानको आम्दानी स्वतः वृद्धि हुन्छ तर त्यसबारेमा सोच्ने फुर्सद कस्को छ ? हरेक पर्यटकको झोलामा धरानको चिनारीसँगै यहाँको मौलिक उत्पादनलाई बेस्मारी पठाउन सकियो भने पनि केही सार्थकता पाउने थियो कि । यतातर्फ स्थानीय सरकारदेखि सबैले ध्यान पुरयाउन ढिला भइसकेको छ ।