Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अभिभावकले कस्ता स्कुल छान्ने ?

हाम्रो कोशी आवाज
बैशाख २ २०८३, बुधबार
अभिभावकले कस्ता स्कुल छान्ने ?

अहिले विशेषगरी धेरैजसो विद्यालयहरूमा वार्षिक परीक्षा सकिएको छ । विद्यार्थीहरू केही समयका लागि फुर्सदिला भएका छन् भने आउँदाे वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र शुरू हुँदैछ । यस्तो समयमा विशेषगरी अभिभावकहरू आफ्ना नानीबाबुहरूलाई आधारभूत तहमा राम्रो विद्यालयमा भर्ना गराउने तयारीमा देखिन्छन् । धेरै अभिभावकहरू उपयुक्त विद्यालय खोज्दै हिँडिरहेका पनि भेटिन्छन् ।
बालबालिकाको विकासको आधार वास्तवमा आमाको गर्भावस्थादेखि नै शुरू हुन्छ । आमाको मानसिक स्वास्थ्य कस्तो छ, पोषणको अवस्था कस्तो छ—यी कुराहरूले पनि बालबालिकाको प्रारम्भिक विकासमा महत्त्वपूर्ण प्रभाव पार्छन् । त्यसपछि शुरू हुने प्रारम्भिक बाल्यकाल शिक्षाले थप आधार तयार गर्छ ।
त्यसपछि आउने आधारभूत तह वा प्राथमिक शिक्षा भनेको मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण जग हो । यही चरणमा बालबालिकाको सोच्ने क्षमता, सिक्ने बानी र व्यवहार विकास हुन्छ । त्यसैले यस तहमा गुणस्तरीय शिक्षक, सक्षम शिक्षण पद्धति र उत्कृष्ट विद्यालय वातावरण अत्यन्त आवश्यक हुन्छ । आधारभूत तहलाई जग अर्थात् ‘फाउन्डेशन’ भनिनुको कारण नै यही हो, यसले नै बालबालिकाको भविष्यको दिशा निर्धारण गर्छ ।
अहिले धेरै अभिभावकहरू राम्रो विद्यालय कस्तो हुन्छ भन्ने विषयमा अलमलमा परेकोजस्तो देखिन्छ । केही अभिभावकहरू महँगो शुल्क लिने विद्यालय नै राम्रो हुन्छ भन्ने भ्रममा छन् । कतिपयले सामाजिक प्रतिष्ठाका आधारमा विद्यालय रोज्ने गरेको पाइन्छ ।
त्यसैगरी केही अभिभावकहरू भने राम्रो नतिजा दिने विद्यालयलाई प्राथमिकता दिन्छन् । कामकाजी अभिभावकहरू विशेषगरी बच्चा बिहानदेखि बेलुकासम्म विद्यालयमै व्यस्त रहोस्, विद्यालयले नै बढी समय र जिम्मेवारी लिओस् भन्ने सोच राख्ने पनि छन् । यसैले वास्तवमा गुणस्तरीय शिक्षा के हो ? भन्ने विषयमा अभिभावकहरू अझै अन्योलमै छन् ।
साना बालबालिकाको हकमा विद्यालयले केवल पाठ्यवस्तु भराउने भन्दा पनि सिकाइप्रति उत्साह र अभिरुचि जगाउन सक्नुपर्छ । सिकाइ प्रक्रिया बालमनोविज्ञानअनुसार विना दबाव, स्वस्फूर्त रूपमा हुनुपर्छ ।
त्यसका साथै विद्यालयमा बालमैत्री र समावेशी वातावरण हुनु अत्यन्त आवश्यक छ जहाँ विभिन्न पृष्ठभूमिका बालबालिकाहरू सँगै सिक्न, छलफल गर्न र सहकार्य गर्न पाउँछन् । जान्नेले नजान्नेलाई सिकाउने, धनी–गरिब सबैलाई समान अवसर हुने वातावरण हुनु जरुरी छ । शारीरिक वा अन्य फरक अवस्थाका बालबालिकाहरूलाई पनि समेट्ने वातावरण हुनुपर्छ ।
विद्यालयमा खेल्नका लागि पर्याप्त स्थान, मैदान, रमाइलो गर्ने अवसर हुनु पनि उत्तिकै महत्त्वपूर्ण छ । साथै पढाइ केवल किताब र पाठ्यक्रममा सीमित नभई वास्तविक जीवनसँग जोडिएको, रचनात्मकता र सिर्जनशीलता विकास गर्ने खालको हुनुपर्छ । यस्ता विशेषता भएका विद्यालयहरू नै वास्तवमा उत्कृष्ट मानिन्छन् ।
विद्यालयको व्यवस्थापन, बालमैत्री वातावरण र बच्चाको बौद्धिक तथा मानसिक विकासमा विद्यालयले खेल्ने भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ । त्यसैले अभिभावकहरूले विद्यालय छनोट गर्दा प्रचारप्रसारमा आएको जानकारी मात्रमा निर्भर हुनु हुँदैन । बरु नजिकका विद्यालयहरूको प्रत्यक्ष अवलोकन गर्नुपर्छ, शिक्षकहरूसँग संवाद गर्नुपर्छ र विद्यालयको वास्तविक वातावरण बुझ्नुपर्छ ।
हिजोआज सामाजिक सञ्जालमा देखिने सबै सामग्री सत्य वा यथार्थपरक नहुन पनि सक्छ । कतिपय अवस्थामा विद्यालयहरू प्रचारका लागि मात्र आकर्षक सामग्री प्रस्तुत गर्छन् । त्यसैले सामाजिक सञ्जाल वा मिडियामा देखिएको आधारमा मात्र निर्णय लिनु उपयुक्त हुँदैन ।
अर्को महत्त्वपूर्ण पक्ष भनेको बच्चाको विद्यालय नजिक हुनु हो । बच्चा हिँडेर पुग्न सक्ने दूरीमा रहेको विद्यालय अभिभावकको पहिलो रोजाइ हुनुपर्छ । यसले अभिभावकको निगरानी सजिलो बनाउँछ र बच्चाको दैनिक जीवन पनि सहज हुन्छ । यद्यपि यदि बच्चामा विशेष क्षमता वा आवश्यकता छ र त्यस्तो विद्यालय नजिक उपलब्ध छैन भने फरक कुरा हुन सक्छ ।
बच्चाको मस्तिष्क निर्माणसँगै जोडिएको विषय भनेको ‘फाउन्डेशन लिटरेसी’ र ‘न्युमेरेसी’ हो । अर्थात् आधारभूत तहमा गणितीय र वैज्ञानिक सीपहरूको विकास अत्यन्तै आवश्यक हुन्छ । यदि बच्चाले यी सीपहरू प्रारम्भिक अवस्थामै राम्रोसँग सिक्न पाएन भने माथिल्लो कक्षामा पुगेपछि उसको सोच्ने क्षमता र तार्किक शक्ति कमजोर हुन सक्छ ।
यस कारण साना कक्षाका विद्यालयहरूले विशेषगरी आधारभूत तहका विद्यालयहरूले यी सीपहरूको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ । अहिले धेरै विद्यालयहरूमा के देखिएको छ भने बच्चाहरूले उमेर र कक्षाअनुसार हासिल गर्नुपर्ने न्यूनतम सिकाइ उपलब्धि पूरा नगरी नै माथिल्लो तहमा सर्ने गरेका छन् । नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रले पनि पाठ्यक्रममै उमेर र तहअनुसारको सिकाइको मापदण्ड तय गरेको छ ।
यदि यी न्यूनतम सिकाइ उपलब्धि हासिल नगरी बच्चा अर्को तहमा जान्छ भने उसको आधार कमजोर रहन्छ । यसले गर्दा उच्च शिक्षासम्म पुग्दा पनि समस्या देखिन सक्छ । जसको आधारभूत शिक्षा बलियो हुन्छ त्यस्ता विद्यार्थीहरूले विश्वविद्यालय तहसम्मको शिक्षा पूरा गर्ने सम्भावना बढी हुन्छ । आधार कमजोर भएका विद्यार्थीहरू क्रमशः पढाइबाट बाहिरिने (ड्रपआउट हुने) अवस्थाहरू विभिन्न अनुसन्धानहरूले देखाएका छन् ।
त्यसैले बच्चाको ‘फाउन्डेशन’ मजबुत हुनु अत्यन्तै आवश्यक छ । यस विषयमा सरकारले पनि कुनै सम्झौता गर्नु हुँदैन र अभिभावकहरूले विद्यालय छनोट गर्दा पनि यसलाई प्राथमिकतामा राख्नुपर्छ । -अभिशेक घिमिरे

प्रकाशित मिति: बैशाख २ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend