प्रहरीको तथ्यांक अनुसार पछिल्ला तीन वर्षमा लगातार हत्या र आपराधिक घटना बढेका छन् । प्रदेश १ प्रहरीले यस आर्थिक वर्षको गत ६ महिनामा मात्र ३ हजार ६ सय २७ वटा विभिन्न अपराध सम्बन्धी मुद्दा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयनतर्फ विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका ११ सय ६८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी ६३२ वर्ष कैद भुक्तान भई ४ करोड २५ लाख ९० हजार ४ सय ५२ रुपैयाँ राजश्व संकलन भएको छ । आ.व. २०७७–०७८ मा प्रदेश–१ मा २ हजार ८ सय ८० जनाको बढीको हत्या भएको देखिन्छ । किन बढ्दैछ हत्याजस्ता जघन्य आपराधिक घटना ?
मनोविश्लेषक बासु आचार्यका अनुसार केही मान्छे बाँच्नका लागि जति आतुर हुन्छन्, त्यत्तिकै मार्न र मर्न पनि आतुर हुन्छन् । मान्छेमा– जीवन मूलप्रवृत्ति र मृत्यु मूलप्रवृत्ति गरी दुई प्रकारका प्रवृत्ति हुन्छन् ।
‘जीवन मूलप्रवृत्ति भनेको आनन्द मान्ने, रमाइलो गर्ने, साथीभाइ, आफन्तसँग घुलमिल हुने हुन्छ भने मृत्यु मूलप्रवृत्ति हाबी हुँदा स–साना कुरामा पनि आवेगमा आउने, चिन्ता हुने, डर लाग्ने, त्यसले मलाई केही गर्छ कि, अब केही हुन्छ कि भनेर शंका गर्ने हुन्छ । यस्तो अवस्थामा; मैले केही घटना घटाउनुपर्छ कि, बदला लिनुपर्छ कि भन्ने किसिमको भावना उसमा आउँछ,’ उनी भन्छन् ।
मनोचिकित्सक डाक्टर बासु कार्की मानसिक रूपमा विचलित भएको व्यक्तिले मात्र यस्तो जघन्य अपराध गर्ने बताउँछन् । ‘मानसिक रूपमा स्वस्थ व्यक्तिले यस्तो अपराध गर्न सक्दैन । व्यक्तिको व्यक्तित्व निर्माणको सवालमा ऊ कस्तो समाजमा हुर्केको छ, उसले कसरी समस्यालाई व्यवस्थापन गरिरहेको छ भन्ने कुरामा भर पर्छ ।’ हत्याका कुनै घटना हुँदा आजकै कारणले भएको भन्दा पनि यसको लामो पृष्ठभूमि हेर्नुपर्ने कार्की बताउँछन् ।
मान्छेको विचार, भावना र व्यवहार मानसिक स्वास्थ्यसँग जोडिएको हुन्छ । व्यक्तिको समस्या समाधानको गलत पाटो उसको व्यक्तित्व निर्माणको सिलसिलाबाट शुरू हुन्छ । कार्की भन्छन्, ‘एउटा बच्चा कस्तो समाजमा हुर्कन्छ, कस्तो सीप सिक्छ, उसले कसरी आफूलाई परिपक्व बनाउँदै जान्छ भन्ने कुरालाई यस्ता घटनासँग जोडेर हेर्नुपर्छ ।’
उनी अगाडि थप्छन्– जाँड–रक्सी खाँदा मान्छेले के सही के गलत थाहा पाउँदैन । रिस, आवेग, लागूपदार्थ सेवन, मानसिक तनाव आदिले यस्ता आपराधिक क्रियाकलाप हुने गर्दछन् । उसको सोच्ने तरिका, व्यवहार गर्ने तरिका, उसका खुशी हुने, दुखी हुने घटनापरिघटनालाई सहन नसक्ने अवस्थामा मान्छेले अपराध बढी गर्छ ।यसका विभिन्न पक्ष हुने गर्दछन् । आर्थिक, यौनलगायतका पक्ष । कोही त यतिसम्मको हुन्छ कि उसले भनेको भएन भने जे गर्न पनि तयार हुन्छ । त्यस्तै; सामाजिक कारण, बचपनाको भोगाइ आदि कारणले मान्छे हत्यासम्म गर्न पुग्छ । मान्छेका अनेक इच्छा, आकांक्षा हुन्छन् । सजिलै धनी बन्न खोज्ने, छिटो परिणाम खोज्ने सपना देख्छ तर ती पूरा हुँदैनन् अनि ऊ जघन्य अपराध गर्न समेत पछि पर्दैन । सबै मान्छे अपराधी हुँदैनन् तर अपराध गर्ने मान्छे चाहिं मानसिक रूपमा पीडित हुन्छन् ।
राम्रा–नराम्रा व्यक्ति समाजले नै जन्माउँछ । हाम्रो समाजमा यस्ता अपराध बढ्दै जानुको मुख्य कारण सामाजिक संरचना भएको प्रमुख, मानवशास्त्र विभागका डम्बर चेम्जोङ बताउँछन् । ‘सामाजिक रूपमा अपराधवृत्ति धेरै पुरानो हो । पहिले पनि यस्ता घटना भइरहेकै हुन्थे । यसको मतलब यो भइराख्नैपर्ने हो भन्ने होइन । तर, अहिले झनै बढ्दै गएको देखिन्छ । समाज सौहार्दपूर्ण हुँदै जानुपर्ने हो, समाजमा पारिवारिक मेल, व्यक्तिगत तहको मेलमिलाप आदि निर्माणका लागि संयन्त्र पनि बनेका छन् । यसमा परिवार, समाज, समुदाय, स्कूल, राज्य, कानून अनेक संयन्त्र छन् । तर, म कसरी सामाजिक हुने, हामी कसरी सामाजिक हुने भन्ने कुराको दायित्वबोध, जिम्मेवारीबोधहरूबाट च्युत भयो भने असामाजिक प्रवृत्तिहरूको विकास हुँदै जाँदा व्यक्तिहरूमा यस्तो अपराधवृत्ति मौलाउँछ ।’