अहिले हरेक जनताको मुखबाट एउटै कुरा सुनिन्छ- जो आएपनि नेपालको विकास हुन सकेन । सामाजिक सञ्जाल, चियागफ, भेटघाट आदिमा पनि एउटा राम्रो नेता जन्मेनन्, नेता खत्तम भएपछि देश बिगारे आदि इत्यादि सुनिएकै छ । राजनीति जान्ने, बुझ्नेले पनि भन्छन्- नेताले देश सखापै बनाए । देश बिगार्ने पहिलो नम्बरमा नेता, दोस्रो नम्बरमा सरकारी कर्मचारी र तेस्रो नम्बरमा व्यापारी हुन् भन्ने सबै नेपालीको मनमा परेको छ ।
जनता राजनीतिदेखि वाक्कदिक्का भएका छन् । भनौं राजनीतिक दल र नेताहरूप्रति देशवासीमा चरम वितृष्णा बढ्दो छ । जो आएपनि खासै केही हुँदैन भन्ने मानसिकताले जरो गाडिसकेको छ । यति पनि बुझेका छन् कि तर, आज यसको मारमा सबै निर्दोष जनता परेका छन् । निर्दोष जनताले देशका लागि सोच्दासोच्दै पनि पदमा बसेकाहरुले मुलुकको सत्यानाश पारे । खाइनखाइ तिरेको कर कहाँ गयो ? बुझ्ने जनताले प्रश्न तेस्याउँदै आएका छन् तर नबुझ्ने जनतालाई अत्तोपत्तो छैन । खर्बौ विदेशी ऋणले कुन ठाउँको विकास भयो त्यो पनि थाहा छैन । विदेशी ऋण बढेको बढ्यै छ । कारण केः बढ्दो भ्रष्टाचार र सीमित व्यक्तिको सुःखसयल । मुलुकको विकासभन्दा पनि कर्मचारी र नेताको सुखसयलमा राज्यको ढुकुटी रित्तिएको छ । विदेशीसँग हात फैलाउँदै नेता र सरकारी कर्मचारीको गोजी भर्ने कामले यहाँ प्राथमिकता पाएको छ ।
भ्रष्टाचारी नेताहरु बढी हुँदा नेपाल तहसनहस भइसकेको छ । नेता र कर्मचारीलाई देशको माया नभएका कारण यस्तो अवस्था निम्तियो । तर, नेपाली जनतालाई त नेपालभन्दा ठूलो केही छैन । आफ्नो जमिन बचाउन नेपाली जे गर्न पनि तयार छन् । नेपाललाई माया गर्नेहरु देश बचाउनैका लागि संघर्षमा जान सक्छन् । अहिलेसम्म जनताहरु मौन बसिरहेका छन् । राज्यले जे गरेपनि उनीहरुले चुइक्क बोलेका छैनन् । तर, भोलि उनीहरु संघर्षमा उत्रिए भने कुनै नेता, सरकारी कर्मचारी यथावत् रहँदैनन् । उनीहरुले पनि सजिलै हात उठाइदिन्छन् । अहिले हरेक नेपालीको सोच विचार एउटै छ, जसरी हुन्छ मुलुक बचाउनुपर्छ ।
राजनीतिक पार्टीका कार्यकर्ताहरु सरकारी कर्मचारीले गर्दा देश बिग्रियो भन्छन् । यता, भुपु सरकारी कर्मचारीहरु राजनीतिक दलले बोराबोरा पैसा लुकाएर भन्दै औला ठड्याउँछन् । उद्योगपतिहरुले कर नतिर्दा र भएको पैसा लगेर सबै विदेशमा लुकाउँदा पनि राज्य राजश्वविहीन बनेको छ । अर्थतन्त्र धरासायी बनेको कुरा अहिले सबैलाई थाहा छ । तापनि नेताहरुआरोप प्रत्यारोप गर्नमै व्यस्त छन् । एमालेको अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले अर्थतन्त्र बचाउन नसकेको भन्दै आएका छन् । प्रधानमनत्री देउवाको सरकार नहट्ने हो भने मुलुक यथाशीघ्र श्रीलंकाकै स्थितिमा आउने ओलीको दाबी छ । फेरि कांग्रेस पार्टीले केपी ओलीका कारण अर्थतन्त्र डामाडोल बनेको बताइरहेका छन् । ओली सरकारमा हुने बेला उनले २० अर्ब रुपैयाँ आफ्नो कार्यकर्तालाई बाँडेको उसको आरोप छ ।
कांग्रेसले एमाले र एमालेले कांग्रेसलाई गिराउने काम मात्रै गरिरहेका छन् । पछिल्लो समय केपी ओली कार्यक्रममा भाषण दिनमै व्यस्त देखिन्छन् । उनले हरेक कार्यक्रममा अर्थतन्त्र केलाउँदै भोट माग्छन् । अब एमालेको सरकार बन्ने र एमालेले नै अर्थतन्त्र सही गतिमा ल्याउने केपीको दाबी छ । तर, केपीसँग त्यस्तो के जादु छ कि उनले पटकपटक सरकारमा आउनेबित्तिकै अर्थतन्त्र सही गतिमा ल्याउँछु भनेर भाषण दिँदै हिँडेका छन् । २०७४ सालको चुनावमा जनताले पाँच वर्षका लागि सरकार चला भनेर केपीलाई मत दिएको हो । तर, सरकार चलाउन नसकेर दुईपटट संसद् विघटन गरेर बाहिरिने पनि केपी नै हुन् । अझ पनि मै सरकारमा आउँछु अर्थतन्त्र चलायमान बनाउँछु भन्नु मजस्ताले बुझ्दा पनि मुर्खता हो । विगत दुई वर्षदेखि अर्थतन्त्र डामाडोल छ । यसमा देउवाको मात्र नभई केपीको पनि हात छ । केपीकै सरकार हुने बेला अर्थतन्त्र धरासायी बनिसकेको थियो । तर, अहिले देउवातिर औला तेस्र्याएर भोट माग्नु कतिसम्म हीनताबोध कुरा हो ।
मुलुकमा आर्थिक संकट आइसक्दा पनि नेपालका राजनीतिक दलहरुको बुद्धि पलाएको छैन । व्यापार घाटा बढेको बढ्यै छ तापनि यिनीहरु बेवास्ता गरिरहेका छन् । अझैपनि जग्गा प्लानिङ गर्नेतिर यिनीहरुको ध्यान केन्द्रित छ । मुलुकमा यस्तो स्थिति आउनुपछाडिको कारण खेतीयोग्य जमिनमा बढ्दो घर बन्नु हो । यसलाई रोक्न सम्बन्धित निकायले ढिलासुस्ती गरिरहेको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय चुनावको मिति घोषणा गरेको छ । तर, पहिल्यैकै उही कामचोर वडाध्यक्ष, मेयर, उपमेयर फेरि दोहोरयाउने तरखरमा छन् । उनीहरुलाई हामीले किन मत दिने ? हिजोको दिनमा जनप्रतिनिधिले के गरे ? यस्तो पाराले मुलुकको स्थिति झनै नाजुक हुन्छ । जनप्रतिनिधिहरुले तलबभत्ता खान छोड्दैनन् । देशमा सङ्कट आइसक्दा पनि सांसद्हरुले तलबभत्ता खाइरहेका छन् ।
तथापि, यो देशलाई समृद्ध पार्न सक्ने क्षेत्र भनेको राजनीति नै हो । तर पनि राजनीतिभित्र भ्रष्टाचारलगायतको फोहोरी खेलले वितृष्णा जागेको हो । चुनाव नजिकिँदै गर्दा घरघरमा–टोलटोलमा राजनीतिक विषयमा चर्चा भएपनि वितृष्णाकै कुरा हुन थालेको छ । समग्र राजनीतिमा भ्रष्टाचार तथा विकृति मौलाएकाले यसप्रति सबैको वितृष्णा बढ्नु स्वभाविक हो । नेतामा इच्छाशक्ति छैन । काम गर्नुपर्छ, देशको विकास गर्नुपर्छ, जनताप्रेमी बन्नुपर्छ भन्ने कोही नेतामा मन पलाएन । जनताले राजनीतिलाई गालीमात्र गर्ने अवस्था आइरहने हो भने अहिले किन भोट दिनु ? सोचनीय विषय नै यही हो ।
म त भन्छु खासमा भन्ने हो भने चुनावमा भोट माग्न हिँडेका नेताले मतदातालाई ठूलाठूला आश्वासन बाँड्ने काम गरेकैले यस्तो भएको हो । दलका घोषणापत्रमा पनि यस्तो हुन्छन् कि प्रेमीले प्रेमिकालाई तिम्रो लागि जीउज्यान दिन तयार छु, जुनतारा नै झारिदिन्छु भन्ने खालका । तर पनि प्रेमीले प्रेमिकालाई कहिल्यै जुनतारा झारेको देख्नुभएको छ ? त्यस्तै, नेताले पनि कहिल्यै बाचा पूरा गरेनन् ।
खासमा भन्ने हो भने गाली खाने काम नेता आफैले गरेका हुन् । पहिला सपना देखाउँछन् पछि सपना पूरा गराउँदैनन् । जनतालाई भाषण छाँट्ने, धेरै बोल्ने, कामै नगर्ने नेता चाहिएको होइन, कम बोल्ने तर काम गर्ने नेता चाहिएको छ । अहिले भएकै त्यही हो कि चुनाव आएपछि आश्वासनको पोको लिएर मतदातासामु पुग्ने जितेर गएपछि फर्केर नहेर्ने, जनताको समस्या एउटा कानले सुन्ने अर्को कानले उडाउने, यही कारणले जनतामा नेता र राजनीतिप्रति वितृष्णा छ । साँच्चै भन्ने हो भने अहिले राजनीति देश र जनताको लागि नभएर मोजमस्तीका लागि बन्न थालेको छ । राजनीति पद, प्रतिष्ठा र पैसामा बदलिँदा यो हविगत भएको हो । यो विषय नै सोंचनीय हो ।
(अनुषा पत्रकारिता विषय लिएर अध्ययनरत् छिन्)